महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायद्वारा जारी सूचनामा सोसम्बन्धी घटना घटेमा वा उद्धारको आवश्यकता परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनको सम्र्पक नम्बरमा सम्र्पक राख्न अनुरोध गरिएको छ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले जोखिम बढ्नेसक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दार्चुलाको चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट जोगिन र धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा जारी सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ३७ हजार ७०० क्युसेक पुगेको छ। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेक (बनबासा पुल)मा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment