अमेरिकी रियलस्टेटमा चम्किँदै रविन: ट्याक्स व्यवसायदेखि ‘मिनी नेपाल’ निर्माणसम्मको यात्रा
वासिङ्टन डीसी। नेपाली व्यवसायी रविन कार्की अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा रियलस्टेट (घरजग्गा) लगानी र कर (ट्याक्स) व्यवसायको क्षेत्रमा एक स्थापित नाम हुन्। सन् १९९७ मा जन्मभूमि नेपालबाट भविष्य खोज्दै अमेरिका ओर्लिएका रविन्द्र (रविन) कार्कीको सुरुवाती यात्रा सहज थिएन।
सुरुमा राजधानी वासिङ्टन डीसी आएका उनी जागिरको सिलसिलामा सन् १९९९ मा विश्वप्रसिद्ध प्रविधि कम्पनी ‘आईबीएम’ मा आबद्ध भई नर्थ क्यारोलाइनाको राजधानी राले सरेका थिए। आईबीएम जस्तो कम्प्युटर प्रविधि, सफ्टवेयर, क्लाउड, एआई र परामर्श सेवामा विश्वकै अग्रणी कम्पनीमा काम गर्दा सिकेको अनुशासन र व्यवस्थापकीय कौशल नै पछि उनको व्यावसायिक सफलताको बलियो जग बन्यो।
जागिरसँगै रविनले २३ वर्षअघि नर्थ क्यारोलाइनामा करसम्बन्धी व्यवसायको जग बसालेका थिए। नेपालमा एकाउन्टिङ अध्ययन गरेका र काठमाडौँमा समेत ट्याक्स फर्म चलाएको अनुभव भएका कारण उनले अमेरिकामा ‘लिबर्टी ट्याक्स’ को फ्रेन्चाइज लिएर राले शहरबाट काम सुरु गरे।

त्यो समयमा एक आप्रवासीका लागि पूँजी जुटाउनु, बैंकको विश्वास जित्नु र बजारमा टिक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो। तर, हार नमान्ने स्वभावका रविनले बिहान ८ बजेदेखि राती १२ बजेसम्म खटेर सेवा दिए। बिस्तारै उनको यो व्यवसाय राले आसपासका गार्नर, फिक्वे भरिना, केरी, डुरम, एन्जीअर र क्लेटन लगायतका सहरहरूमा १४ वटा शाखासहित फैलियो।
एनआरएनका नेता एवं चिकित्सक डा. केशव पौडेलका अनुसार, दुई दशकअघि नै नेपाली तथा दक्षिण एसियाली समुदायलाई आफ्नै भाषामा विश्वासिलो ट्याक्स सेवा दिएर रविनले एउटा गर्विलो र उदाहरणीय व्यावसायिक साम्राज्य खडा गरेका थिए।
अमेरिकामा नेपालीहरूको लगानी प्रायः ग्याँस स्टेसन वा रेस्टुरेन्टमा सीमित हुने आम बुझाइका बीच रविनले डेढ दशकअघि रियलस्टेट क्षेत्रमा लोभलाग्दो फड्को मारे। सन् २००९ मा रियलस्टेट ब्रोकरको लाइसेन्स लिँदा सो क्षेत्रमा नेपाली वा भारतीयहरूको उपस्थिति नगण्य थियो।
‘हु इज हु इन युएसए’ पुस्तकका लेखक किरण मरहठ्ठाका अनुसार, रविन नर्थ क्यारोलाइनाको रियलस्टेट लगानीमा नेपाली समुदायका लागि पर्याय जस्तै हुन्। सुरुमा विज्ञापन बिना नै ग्राहकको विश्वास जितेर मोरिसभिलको किट्स क्रिक, सिलो ग्रोभ र प्रोभिडेन्समा सयौँ घर बिक्री गरेका रविनले सन् २००५ देखि नै जग्गामा व्यक्तिगत लगानी सुरु गरिसकेका थिए।
हाल उनी र उनको समूहले मोरिसभिल गार्डेनमा ‘एभरेस्ट एलएलसी’ मार्फत घर निर्माण गरिरहेको छ, जहाँको सडकको नाम नै ‘एभरेस्ट ड्राइभ’ राखिएको छ। यस्तै, डुरमको मायामी एलएलसीमार्फत ६ एकडमा इन्डस्ट्रियल कन्डोनियम र अर्को स्थानमा ६८ वटा टाउनहोम बन्दै छन्।

रविनको ड्रिम प्रोजेक्ट भने साइलर सिटीमा निर्माणाधीन ३ सय एकडको वृहत् गुरुयोजना हो। ‘एभरेस्ट पार्क’ नाम दिइएको यस परियोजनामा प्रारम्भमा १०० वटा घर र टाउनहाउस बन्नेछन् भने भविष्यमा १ हजार घर, सपिङ मल, सिनियर लिभिङ र मन्दिरसहितको एउटा आधुनिक ‘मिनी नेपाल’ नै खडा हुनेछ, जहाँका सडकहरूको नाम नेपाली संस्कृति झल्किने गरी राखिनेछ।
यसबाहेक स्मिथफिल्डमा १०४ एकड जग्गामा २३७ वटा आवास गृह, सेल्माको ९५ हाइवेमा १०० वटा ट्रक पार्क गर्न मिल्ने ठूलो ट्राभल सेन्टर, र प्रसिद्ध अमेरिकी चेन ग्रोसरी ‘पिग्गी विग्ली’ को सञ्चालनमा समेत उनको समूह आबद्ध छ। उनी नेपालमा मुख्य कार्यालय रहेको र अमेरिका तथा यूएईमा विस्तारित ‘स्पार्क ग्रुप ग्लोबल एलएलसी’ का कार्यकारी निर्देशकसमेत हुन्।

व्यवसायबाहेक नेपाली समुदायलाई अमेरिकी मूलधारसँग जोड्न रविनले महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएका छन्। सन् २०१६ मा मोरिसभिलमा ‘नेपाल डे’ (नेपाल दिवस) को सुरुवात गराउन उनी मुख्य सूत्रधार थिए, जसका लागि तत्कालिन मेयर मार्क स्टलमेनले रविनलाई व्यक्तिगत रूपमा पत्र सुम्पेका थिए।
सन् २०२० देखि २०२४ सम्म उनी मोरिसभिलका मेयर टीजे कलीको वातावरणीय सल्लाहकारसमेत बनेका थिए। एट्लान्टाका व्यवसायी राजा घलेका अनुसार, नेपालबाट जाने उच्च पदस्थ अधिकारीहरूलाई अमेरिकी राज्यका उच्च अधिकारीहरूसँग जोड्न रविन सधैँ अग्रसर रहन्छन्। उनले नर्थ क्यारोलाइनामा नेपालीको पहिलो रियलस्टेट ब्रोकरेज कम्पनीसमेत खोलेका छन्, जसमा दुई दर्जन बढी नेपाली रियल्टर आबद्ध छन्।

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को पूर्व अध्यक्ष (२०१९-२०२१) रहँदा उनले कोभिड महामारीको समयमा विपन्न नेपालीको कोठाभाडा तिर्ने, घरघरमा खाद्यान्न पुर्याउने, निःशुल्क खोप शिविर चलाउने तथा नेपालको भूकम्पका बेला राहत संकलन गर्ने जस्ता उदाहरणीय कार्यको नेतृत्व गरेका थिए।
वरिष्ठ गायक प्रेमराजा महतले रविनको यात्रालाई केवल मिहिनेतको मात्र नभई निरन्तर सिकाइ र सफलताको प्रेरक कथाका रूपमा चित्रण गर्छन्। यसरी व्यवसाय, परोपकार र समाजसेवालाई एकसाथ अघि बढाउँदै रविन कार्कीले अमेरिकी भूमिमा नेपाली पहिचान र गरिमालाई थप उज्यालो बनाइरहेका छन्।






डिसी नेपाल





Facebook Comment