राष्ट्रियता रक्षाका लागि देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड
काठमाडौं । नेपालका परराष्ट्रविज्ञ, वामपन्थी बुद्धिजीवी र कम्युनिस्ट नेताहरूले नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा सङ्कटमा रहेकाले देशको रक्षाका लागि देशभक्त शक्तिहरूको एकताबद्ध प्रतिरोध आवश्यक रहेको बताएका छन् ।
राजधानीको संवाद डबलीमा शनिबार समाजवादी कम्युनिस्ट पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा बाढीले देश शोकमा डुबेको बेला राहत र उद्धारको बहानामा विदेशीले आफ्नो स्वार्थ सिद्ध गर्ने अवसर बनाउने खतरा रहेकोले सचेतसमेत गराएका छन् ।
आयोजक पार्टीका महासचिव अशोक सुवेदीले प्रस्तुत गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक गोष्ठी पत्रमाथि बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले साम्राज्यवादी शक्तिहरूले संकट निम्त्याएर हस्तक्षेप गर्ने गरेको दाबी गरे । जेनजी विद्रोह, निर्वाचन र सरकार निर्माणका क्रममा आफूले गरेको लगानीको प्रतिफल खोजिरहेको र त्यसले पछिल्लो अवस्थामा नेपालको राष्ट्रियतामाथि थप सङ्कट थोपरेको श्रेष्ठको कथन छ ।
श्रेष्ठले टीओबी, बारबरा फाउन्डेसन, अमेरिकी युथ काउन्सिल र सेनाले अमेरिकी सेना नेपालमा भित्र्याएर मुस्ताङलगायत क्षेत्रमा रहेको बहुमूल्य युरेनियम कब्जा गर्ने षड्यन्त्र गरेको आरोप लगाए ।
नेपाललाई साम्राज्यवादी युद्ध मैदान बनाउने, चीन घेर्ने नीति अघि बढाइरहेको र शनिबार प्रमुख जिल्ला अधिकारीको कार्यालय खोलेर दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न दिनु, एमसिसी पारित गराएर एसपीपी अघि बढाउन दबाब दिनु, नेपालको प्राकृतिक सम्पदा कब्जा गर्न नेपाली जेलेन्स्की तयार पार्नु यसैको उदाहरण रहेको श्रेष्ठले जिकिर गरे । साम्राज्यवादी फासिवाद रोक्न देशभक्त, क्रान्तिकारी शक्तिहरूका बिच एकता र मोर्चाबद्ध सङ्घर्ष आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालमा अब ‘डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी’ (विपद् व्यवस्थापन कूटनीति) अघि बढाउनुपर्ने र शान्ति क्षेत्र नेपालको धारणालाई कार्य रूप दिनुपर्ने भन्दै श्रेष्ठले यो प्रस्तावले अमेरिका र भारतलाई विभिन्न बहानामा नेपालमा आउनबाट रोक्ने धारणा राखे । नेपालले चीनसँग विपद् व्यवस्थापन कूटनीतिक सम्झौता गरी त्रिपक्षीय हिमताल अध्ययन समिति गठन गरेर नेपालको प्राकृतिक विपद् रोक्न पहल लिनुपर्ने श्रेष्ठले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य दिनेश शर्माले सुगौली सन्धि, कालापानीमा भारतीय सैनिक क्याम्प राख्न दिने सहमति, महाकाली सन्धि र एमसिसी सम्झौताले नेपालको राष्ट्रियतालाई इतिहासमै सबैभन्दा खतरामा पारेको बताए ।
माओवादी नेता हरिबोल गजुरेलले नेपालका राजनीतिक शक्तिहरू राष्ट्रियता रक्षाका लागि स्वेच्छाले नभएर बाध्यात्मक परिस्थितिले एक ठाउँमा आउनुपर्ने अवस्था उत्पन्न भएको धारणा राखे ।
नेपालको स्वतन्त्र परराष्ट्र नीति नहुनु, देश स्वाधीन नहुनु, बाह्य शक्तिको दबाब र प्रभावमा पर्नुको कारण राष्ट्रियतामाथिको सङ्कट बढिरहेको नेता गजुरेलको भनाइ थियो । नेपालको राष्ट्रियतामाथि सधैँ साम्राज्यवादी तरबार झुन्डिइरहेको र यसको संयुक्त प्रतिरोध गर्नुको विकल्प नरहेको नेता गजुरेलले बताए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोखरेलले नेपालको सङ्कटमा परेको राष्ट्रियताको रक्षा गर्ने विषयमा कसैले कसैमाथि आरोप–प्रत्यारोप गर्ने भन्दा पनि मिलेर जानुपर्ने अवस्था उत्पन्न भएको बताए ।
नेपालका देशभक्त, कम्युनिस्टहरूले देश र जनताको मुक्तिका लागि लडेको उदाहरण प्रस्तुत गर्दै नेता पोखरेलले ठुलो बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउँदै राष्ट्रियताको रक्षाका लागि एक हुन गोष्ठीले कम्युनिस्ट पार्टी र देशभक्त जनतालाई ठुलो सहयोग पु¥याउने धारणा राखे ।
वामपन्थी बुद्धिजीवी महादीप पोखरेलले नेपालमा हालै भोटेकोसी नदीमा भएको प्राकृतिक प्रकोपलाई बहाना बनाएर साम्राज्यवादी शक्तिहरूले चीनमाथि आरोप थोपर्ने र नेपालमा अमेरिकी सेना राख्ने षड्यन्त्र झन् अघि बढाएको बताए । मुस्ताङको युरोनियम कब्जा गर्ने, चीन घेर्ने, डाटा कम्पनी खोल्ने र नेपालका सम्पूर्ण हिमालहरूको हिउँ पगाल्ने साम्राज्यवादी षड्यन्त्र समयमै नबुझ्ने हो भने यो क्षेत्र जीवरहित बन्ने खतरा बढ्दै गएको भन्दै पोखरेलले देशको रक्षाका लागि सम्पूर्ण देशभक्त, वामपन्थी सक्तीहरूबिच एकता अपरिहार्य बनिसकेको धारणा राखे ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले देशमा भीषण प्राकृतिक प्रकोप परिरहेको समयमा पीडितहरूको उद्धार, राहतका साथै राष्ट्रियताका पक्षमा समसामयिक विचार गोष्ठी आयोजना गरेर असल सन्देश प्रवाह गरिएको बताए । अमेरिकाले नेपालसम्बन्धी नीति परिवर्तन गरेपछि नेपालको राष्ट्रियता विगतमा भन्दा झनै पेचिलो अवस्थामा पुगेको जनाए ।
कट्टेलले सुगौलीदेखि महाकाली सन्धि हुँदै एमसिसी र एसपीपीसम्म आइपुग्दा नेपाल सिक्किम वा भुटान बन्ने खतरा बढिरहेको बताए । नेपालका कम्युनिस्टहरूले निरन्तर राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्दै आएकाले मात्र नेपाल जोगिएको भन्दै सबै पुनः एक भएर लड्नुपर्ने कट्टेलको भनाइ थियो ।
सबै वक्ताले भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै सबै शक्तिले एकताबद्ध भएर पीडितहरूको उद्धार र राहतमा लाग्नुपर्ने बताएका थिए । बाढीमा परी मृत्यु भएकाहरूप्रति सबै वक्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment