भोटेकोशी बाढी: बेपत्ताको खोजीमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको ऊर्जामन्त्रीको भनाइ
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी र उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखी उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरेको बताएका छन्। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा अपेक्षा अनुसार सफलता हासिल गर्न कठिन भइरहेको उनले स्पष्ट पारेका छन्।
सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमा भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको आश्वस्त पारे। सङ्कटको यस घडीमा पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको दायित्व भएको उनले बताए।
“परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु। हाम्रा लागि प्रत्येक सेकेन्ड महत्त्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन, तर काबुबाहिरको परिस्थितिले गर्दा चाहेर पनि धेरै कुरा गर्न कठिन भइरहेको छ,” मन्त्री श्रेष्ठले भने।
बाढीपछि मन्त्रालयले उद्धार, समन्वय तथा पुनःस्थापनाका लागि उपलब्ध स्रोत-साधन परिचालन गर्दै विभिन्न कमाण्ड तथा संयन्त्रमार्फत काम गरिरहेको जनाएको छ। सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्यलाई तीव्रता दिइएको भए पनि विकट भूगोल र निरन्तरको जोखिमका कारण सोचे जस्तो उपलब्धि हासिल हुन नसकेको मन्त्री श्रेष्ठको भनाइ छ।
केन्द्रीय तहमा मन्त्री आफैँले अन्तरमन्त्रालय समन्वय, सहजीकरण तथा आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहेका छन्। त्यसैगरी मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अन्य उच्च अधिकारीहरू उद्धार, पुनःस्थापना र स्रोत परिचालनका लागि स्थलगत रूपमै खटिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment