देशभरका राजमार्गमा वर्षाको कहर: कान्तिलोकपथ खुल्यो, अरनिको र मेचीसहितका सडक अवरुद्ध

डिसी नेपाल
१ साउन २०८३ ७:१९

काठमाडौं। मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा बाटो हिलो हुने समस्याले यातायात सेवा प्रभावित बनेको छ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा सडकमाथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

वर्षायामको जोखिमलाई मध्यनजर गर्दै विभिन्न राजमार्गहरूमा रात्रि सेवामा प्रतिबन्ध समेत लगाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, मकवानपुरको कान्तिलोकपथमा पनि रात्रिकालीन जोखिम कम गर्न बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, अन्य प्रमुख सडकखण्डहरूमा भने अवरोध कायमै रहेको छ। इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग अत्यधिक हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ र सो मार्ग भएर यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ सालझन्डी–ढोरपाटन सडकखण्डमा पनि ठूला ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। अहिले सडक विभाग लगायतका अन्य सम्बद्ध निकायहरूको समन्वयमा अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास निरन्तर जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *