‘लज्जावती’को ‘दिलको मोटर’ गीत सार्वजनिक: साउन २९ देखि हलमा आउने
काठमाडाैं। आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। राजधानीमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। सिनेमाका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमल प्रसाद शर्मा र सन्दीप कुमार रोकाले यसको निर्माण गरेका हुन्। साथै दिनेश राज बुढाथोकी चलचित्रको कार्यकारी निर्माताका रूपमा रहेका छन्।
सार्वजनिक गरिएको डान्सिङ नम्बर ‘दिलको मोटर’ मा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने यसमा सहिमा श्रेष्ठ र नेपाल आइडल विजेता रवी ओडले स्वर दिएका छन्। कवीराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाललाई फिचर गरिएको छ। निर्माण टिमले यो गीतको अडियो र भिडियो दुवैले दर्शकको मन जित्ने ठूलो अपेक्षा राखेको छ।
यस चलचित्रमा मुकुन भुषाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी र केशव रिजालका साथै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
दिव्यराज सुवेदीले छायांकन गरेको यस चलचित्रलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् भने देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। देशभर यो चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।
चलचित्रका लागि एउटा रोचक पक्ष के छ भने, यसका लाइन प्रोड्युसर हरि प्रसाद सिवाकोटी क्यानडामा बसोबास गर्छन्। उनकै सहकार्य र योजना अनुरूप ‘लज्जावती’ लाई नेपालमा प्रदर्शन सुरु हुने मितिदेखि नै क्यानडामा पनि एकसाथ रिलिज गर्ने लक्ष्य राखिएको छ।






डिसी नेपाल





Facebook Comment