सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले ‘स्रष्टा परिचय कोश’ तयार गर्ने

डिसी नेपाल
१ साउन २०८३ १७:२८

धनगढी । सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा सक्रिय सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले यस क्षेत्रका स्रष्टाहरूको ब्यक्तिगत विवरणसहितको ‘स्रष्टा परिचय कोश’ तयार गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानको प्राज्ञ परिषद्को गत असार ३२ गते बसेको बैठकले चालू आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू अघि बढाउने औपचारिक निर्णय गरेको हो।

यस कार्यको उद्देश्य सुदूरपश्चिमका सम्पूर्ण स्रष्टाहरूको अभिलेख राख्नुका साथै प्रदेशभित्र क्रियाशील साहित्यिक तथा सांस्कृतिक संघ-संस्थाहरूको विवरण संकलन गरी सूचीकृत गर्नु रहेको छ। साथै, प्रतिष्ठानले आफ्ना गतिविधि र साहित्यिक सामग्रीहरू समेट्ने गरी नियमित रूपमा त्रैमासिक बुलेटिन प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

यस सन्दर्भमा प्रतिष्ठानका सदस्य सचिव सुरत बहादुर रावत ‘डोटेली कान्छा’ले सुदूरपश्चिमको भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, संवर्द्धन र विकास गर्ने प्रतिष्ठानको मूल मर्मलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको अनुसन्धान एवं मौलिक सृजनामार्फत समाजोपयोगी कृतिहरू तयार गर्ने र यस क्षेत्रका विद्वान तथा प्रतिभाहरूको उच्च सम्मान र कदर गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आफ्ना हरेक कार्यलाई व्यवस्थित रूपमा अभिलेखिकरण गरेर अघि बढाउने संकल्प लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *