लगातारको वर्षाले देशका नौ प्रमुख राजमार्ग अवरुद्ध, यात्राअघि सडकको अवस्था बुझ्न प्रहरीको आग्रह
काठमाडौं। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण नौ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका-९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका-१ खोबरे खोला क्षेत्रमा पहिरो जाँदा मेची राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल-भोजपुर सडकखण्ड पनि पहिरोकै कारण पूर्ण रूपमा बन्द भएको छ।
बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको छ भने काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथमा पनि अर्को सूचना नभएसम्मका लागि सवारी साधन सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जुरीखोला र कोदारी क्षेत्रमा अरनिको राजमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध पारेको छ।
यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित पासाङल्हामु सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे तापनि सोही खण्डको जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ।
नेपाल प्रहरीले वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम अझै कायमै रहेको जनाएको छ। सम्भावित विपद् र यात्राको सास्तीबाट बच्नका लागि सम्बन्धित निकाय वा प्रहरीसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment