बालेन-स्वर्णिम टकराव: बजेटको खिचातानी कि भावी प्रधानमन्त्रीको दाउ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दूसित थानी रिसोर्टमा २४ घण्टा एकसाथ बिताएर काठमाडौँ फर्किएपछि राजनीतिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
सतहमा पारिवारिक जमघट भनिए तापनि दुई शीर्ष नेताहरू बीचको यो लामो बसाइको मुख्य एजेन्डा भने सरकारको भविष्य, अर्थ मन्त्रालयको कार्यशैली, र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग अर्थमन्त्री वाग्लेको बढ्दो दुरी नै थियो।
बालेन शाह नेतृत्वको सरकारमा प्रभावशाली मन्त्रालय सम्हालिरहेका डा. स्वर्णिम वाग्ले र प्रधानमन्त्री शाहबीच पछिल्लो समय सम्बन्ध सोचेजस्तो सुमधुर रहन सकेको छैन।
नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको नारा दिएर सत्ताको बागडोर सम्हाल्न पुगेका यी दुई उच्च क्षमताका पात्रहरूबीचको तिक्तता अहिले मन्त्रिपरिषद्भित्रै छताछुल्ल हुन थालेको छ।
विशेष गरी बजेट निर्माणका क्रममा अतिसंवेदनशील क्षेत्रहरूमा करको दायरा बढाउने, उपभोग्य वस्तुमा कर हेरफेर गर्ने र अर्थ मन्त्रालयका महत्त्वपूर्ण निर्णयहरू लिँदा प्रधानमन्त्रीसँग समन्वय नगर्ने आरोप बालेन शाह पक्षले अर्थमन्त्रीमाथि लगाउँदै आएको छ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफ्ना नजिकका मानिसलाई प्राथमिकता दिएको र सेयर बजार तथा समग्र अर्थतन्त्रलाई गति दिन नसकेको भन्दै बालेन अर्थमन्त्रीको कार्यशैलीप्रति तीव्र रुष्ट बनेका छन्।
तर, यो असमझदारीको चुरो कुरो केवल बजेट वा करको दायरामा मात्र सीमित छैन, यसको पछाडि गहिरो राजनीतिक जोडघटाउ र शक्ति-सन्तुलन लुकेको स्राेतकाे दाबी छ।
बालेन अप्ठ्यारोमा पर्दै जाने र रविको कानुनी संकट चुलिँदै जाने अवस्थामा स्वर्णिम आफैं प्रधानमन्त्री बन्ने खेलमा लागेको र सरकारभित्रैबाट समानान्तर शक्ति अभ्यास गर्न खोजेको भन्दै बालुवाटार र बालेन निकटस्थहरू उनीप्रति चरम सशंकित र रुष्ट बनेका हुन्।
यतिबेला रास्वपा सभापति रवि लामिछानेमाथि अदालतमा गम्भीर मुद्दाहरू विचाराधीन छन् भने प्रधानमन्त्री बालेन शाहको आक्रामक र कडा निर्णय प्रक्रियाका कारण निजी क्षेत्र, उद्योगी-व्यवसायी र कूटनीतिक नियोगहरू उनीसँग असन्तुष्ट बन्दै गएका छन्।
यो परिस्थितिमा अन्तर्राष्ट्रिय निकाय, निजी क्षेत्र र बौद्धिक वर्गमा राम्रो पकड भएका डा. स्वर्णिम वाग्ले आफूलाई ‘सर्वस्वीकार्य र भरपर्दो विकल्प’ का रूपमा उभ्याउने रणनीतिमा लागेको बुझाइ बालेन पक्षको छ।
बालेन अप्ठ्यारोमा पर्दै जाने र रविको कानुनी संकट चुलिँदै जाने अवस्थामा स्वर्णिम आफैं प्रधानमन्त्री बन्ने खेलमा लागेको र सरकारभित्रैबाट समानान्तर शक्ति अभ्यास गर्न खोजेको भन्दै बालुवाटार र बालेन निकटस्थहरू उनीप्रति चरम सशंकित र रुष्ट बनेका हुन्।
यसै सन्दर्भमा, रास्वपा सभापति रवि लामिछाने बूढानीलकण्ठस्थित आफ्नै निवासमा प्रधानमन्त्री बालेनसँग भएको भेटवार्ता र असन्तुष्टिको पोको बोकेर काभ्रेको रिसोर्टसम्म पुगेका थिए।
आफैँ कानुनी घेराबन्दीमा परेका बेला आफ्नै पार्टीका उपसभापति र सरकार प्रमुखबीचको यो टकरावले सरकार मात्र होइन पार्टीको भविष्य नै संकटमा पर्न सक्ने जोखिम रविले महसुस गरेका छन्।
त्यसैले, रविले काभ्रेको एकान्तमा स्वर्णिमसँग घन्टौँ संवाद गर्दै उनलाई ‘अविचलित भएर काम गर्न’ तर प्रधानमन्त्रीसँग पौँठेजोरी नखेली समन्वयको बाटो रोज्न स्पष्ट कूटनीतिक ढाडस दिएका हुन्।
काभ्रेको वार्तामा सभापति रविले स्वर्णिमलाई आश्वस्त पार्दै भनेका थिए, “प्रधानमन्त्रीज्यूले तपाईंका केही निर्णय र कार्यशैलीबारे गुनासो गर्नुभएको पक्कै हो, तर उहाँ अर्थमन्त्री फेर्ने वा तपाईंलाई हटाउने पक्षमा हुनुहुन्न।बाहिर मिडियामा आएका कुराहरूमा सत्यता छैन। प्रधानमन्त्रीलाई बाइपास गरेर वा छुट्टै राजनीतिक कार्ड खेलेर अघि बढ्दा संशय पैदा हुन्छ, त्यसैले महत्त्वपूर्ण निर्णयहरू गर्दा उहाँसँगै समन्वय गरेर अघि बढ्नुभयो भने कसैले औँला उठाउने ठाउँ रहँदैन।” रविले मन्त्रालयका निर्णयमा प्रधानमन्त्रीलाई साथमै लिएर हिँड्न र सहकार्यको वातावरण बनाउन स्वर्णिमलाई सुझाएका थिए।
जवाफमा अर्थमन्त्री डा. वाग्लेले पनि आफ्नो स्पष्टीकरण राख्दै अर्थ मन्त्रालयका कतिपय विषय स्वायत्त र प्राविधिक हुने भएकाले तत्काल निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका थिए।
यद्यपि, प्रधानमन्त्रीसँगको समन्वय अभावले मन्त्रिपरिषद् र सरकारको छविमा असर परेको स्वीकार गर्दै उनले प्रधानमन्त्रीको अस्वाभाविक व्यवहार र कार्यशैलीका कारण कहिलेकाहीँ असहजता पैदा हुने गरेको भए पनि आफू सरकारलाई पाँच वर्षसम्म सफल बनाउन प्रतिबद्ध रहेको धारणा रविसामु राखेका थिए। स्वर्णिमले कुनै पनि व्यक्तिलाई फाइदा पुग्ने गरी भन्दा पनि पार्टी र संस्थाको हितलाई मध्यनजर गरेर निर्णयहरू हुनुपर्नेमा जोड दिएका थिए।
काभ्रेको यो लामो भेटवार्ता र रविको सक्रियताले तत्कालका लागि बालेन र स्वर्णिमबीचको टकरावलाई साम्य पार्ने प्रयास गरेको छ। रवि लामिछाने अहिले सत्ता साझेदार दलको मुख्य नेता र रास्वपाको सभापतिको हैसियतले बालेन शाह र स्वर्णिम वाग्ले दुवैका लागि अनिवार्य ‘पुल’ बनेका छन्।
बालेन शाहलाई आफ्ना मन्त्रीहरू नियन्त्रणमा राख्नुपर्ने र आफ्नो कुर्सीमाथि आँच आउन नदिने चुनौती छ भने स्वर्णिम वाग्लेलाई आफ्नो विशेषज्ञता र राजनीतिक स्वाभिमान जोगाउँदै विकल्पका रूपमा स्थापित हुनुपर्ने बाध्यता छ।
यस्तो संवेदनशील अवस्थामा रविको ढाडस र मध्यस्थताले अर्थमन्त्री वाग्लेलाई मन्त्रालयमा निरन्तरता दिन राजनीतिक आड त पुगेको छ, तर बालेन र स्वर्णिमबीचको वैचारिक, कार्यशैलीगत र प्रधानमन्त्रीको कुर्सीकेन्द्रित यो खाडल पूर्ण रूपमा पुरिन्छ वा पुन: सतहमा आउँछ भन्ने कुरा आउँदा दिनमा हुने शक्ति-सन्तुलनले नै तय गर्नेछ।






डिसी नेपाल





Facebook Comment