चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १०५ जनाको मृत्यु, अघिल्लो वर्षको तुलनामा दुर्घटना र मृतकको संख्या घट्यो

डिसी नेपाल
५ साउन २०८३ ७:५२

चितवन। चितवन जिल्लामा गत एक वर्षको अवधिमा भएका ५४५ वटा सवारी दुर्घटनामा परी १०५ जनाको ज्यान गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटना र त्यसबाट हुने जनधनको क्षतिमा उल्लेखनीय कमी आएको छ। यी दुर्घटनाहरूमा परी कुल ९९९ जना घाइते भएका थिए, जसमध्ये ९७ जना गम्भीर र ९०२ जना सामान्य घाइते भएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने एक हजार ५० वटा दुर्घटनामा परि १२० जनाले ज्यान गुमाएका थिए भने एक हजार ८७७ जना घाइते भएका थिए।

सडकखण्डका आधारमा हेर्दा पूर्व-पश्चिम लोकमार्गमा सबैभन्दा बढी १३७ वटा दुर्घटना हुँदा ३४ जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। त्यसैगरी नारायणगढ-मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु र १८० जना घाइते भएका छन् भने पृथ्वी राजमार्गमा २२ वटा दुर्घटना हुँदा छ जनाले ज्यान गुमाएका छन् र ६२ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा भएका ५५ दुर्घटनामा १४ जनाको मृत्यु र ७३ जना घाइते भएका छन्। त्यस्तै भित्री सडकहरूमा भएका २८३ वटा दुर्घटनामा ४१ जनाको मृत्यु हुनुका साथै ४७० जना घाइते भएका छन्।

दुर्घटनामा परेका सवारीसाधनहरूमध्ये सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन रहेका छन्, जसका कारण ५२ जनाको ज्यान गएको छ। सवारीको ठक्करबाट १८ जना पैदलयात्रीको मृत्यु भएको छ भने जिप र कारको ठक्करबाट आठ जना, टेम्पो दुर्घटनाबाट आठ जना, शारीरिक शक्तिबाट चल्ने सवारीबाट सात जना, बस दुर्घटनामा पाँच जना, ट्रक र ट्याङ्कर दुर्घटनाबाट तीन जना, माइक्रो दुर्घटनाबाट एक जना तथा पहिचान नखुलेका सवारीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। दुर्घटना हुनुमा तीव्र गति मुख्य कारण बनेको पाइएको छ।

कुल दुर्घटनामध्ये ३८ प्रतिशत अर्थात् २०९ वटा दुर्घटना तीव्र गतिका कारण, २२ प्रतिशत अर्थात् १२१ वटा चालकको लापरवाहीका कारण, १८ प्रतिशत अर्थात् ९७ वटा यात्रुका कारण र १७ प्रतिशत अर्थात् ३५ वटा दुर्घटना सडकको अवस्थाका कारण भएका हुन्। यसबाहेक मादक पदार्थ सेवन गरेर ३५, ओभरटेक गर्दा २८, यान्त्रिक गडबडीले आठ, मौसमका कारण छ र पशुचौपायाका कारण तीन वटा दुर्घटना भएका छन्।

समयका हिसाबले साँझ ६ बजेदेखि राति १२ बजेसम्मको अवधिमा सबैभन्दा धेरै २१४ वटा दुर्घटना भएका छन्। दिउँसो १२ देखि साँझ ६ बजेसम्म १५६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म १२४ र राति १२ देखि बिहान ६ बजेसम्म ५१ वटा दुर्घटना भएको तथ्याङ्क छ। ट्राफिक नियम पालना गराउने क्रममा कार्यालयले एक वर्षको अवधिमा १० हजार ८० जना सवारी चालकलाई कारबाही गरेको छ।

कारबाहीमा पर्नेहरूमा एक हजार ३७९ जना मादक पदार्थ सेवन (मापेसे) गरेका र १०० जना लागूपदार्थ सेवन (लापेसे) गरेका चालकहरू रहेका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूबाट कार्यालयले एक वर्षमा कुल रु. १ करोड ७५ लाख ७७ हजार ५०३ राजस्व संकलन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *