कांग्रेसभित्रको विवादले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुन सक्ने नेता गुरु बरालको चेतावनी

डिसी नेपाल
५ साउन २०८३ १०:०७

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन्।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा उनले पार्टीभित्र चुलिँदै गएको आन्तरिक कलह र विभाजनको स्थितिले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न गराउन सक्ने चेतावनी दिएका हुन्।

विगत आठ-दस महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै उनले विगतमा कांग्रेस विभाजित हुँदा प्रजातान्त्रिक व्यवस्था सङ्कटमा परेको र अहिले झन् त्योभन्दा विषम परिस्थिति सिर्जना भएको उल्लेख गरे।

पार्टी कमजोर हुँदा राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिएकाले शीर्ष नेतृत्वबाट पार्टीलाई एकजुट बनाउने सही कदमको प्रतीक्षा भइरहेको उनले बताए।

पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेता बरालले नेतृत्व तह, विशेषगरी सभापति गगन थापा र उहाँको समूहले कांग्रेसलाई गोलचक्करमा फसाएको आरोप लगाएका छन्। नेतृत्वमा आत्मबोधको कमी हुँदा मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको उनको तर्क छ।

पार्टीको मेरुदण्ड कमजोर हुँदा न त व्यवस्था बलियो हुने न त राष्ट्रियता नै जोगिने दाबी गर्दै उनले क्रियाशील सदस्यताको विषयमा कडा टिप्पणी गरे। जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गरिनु हुकुमी शैली भएको उनको ठहर छ।

पार्टीको विधान अनुसार निरन्तर क्रियाशील सदस्यता चाहिने भएकाले कसैले खारेज गर्दैमा त्यो खारेज नहुने र सबै खारेज भएको मान्ने हो भने स्वयम् नेतृत्वकै १५ वर्षे निरन्तरतामाथि प्रश्न उठ्ने उनले स्पष्ट पारे। अहिले अद्यावधिकका नाममा देशभर कार्यकर्तामाझ त्रास सिर्जना गरिएको उनले बताए।

कांग्रेस अहिले बीपी कोइरालाको आदर्श र बीपी-वादबाट विमुख भएकोमा रोष प्रकट गर्दै नेता बरालले सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर तथा राष्ट्रियताका सवालमा पार्टीको आवाज कमजोर बनेको दाबी गरे।

सानेपामा नेतृत्व गर्ने नेताहरू सरकारका साझेदार हुन् कि केवल दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको टिप्पणी गर्दै उनले संसद्मा कांग्रेसको भूमिका सत्ताको छायाँ जस्तो मात्र देखिएको बताए।

१५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी गठनको तयारीका रूपमा नलिन आग्रह गर्दै उनले यो केवल समान विचार भएका साथीहरूबीचको आन्तरिक तयारी मात्र भएको प्रष्ट पारे।

तथापि, सार्थक संवादको अभावमा पार्टी एकता संकटमा परेको स्वीकार गर्दै नेतृत्वले इमानदार वक्तव्यमार्फत बीपी-वादमा फर्कने र महाधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने विश्वास व्यक्त गरे।

पार्टी नेतृत्वको भविष्यका बारेमा बोल्दै बरालले कांग्रेससँग अनुभवी र निष्कलंक नेताहरूको कमी नभएको उल्लेख गरे। डा. शशांक कोइराला, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला जस्ता परिपक्व नेताहरूलाई डिजिटल लोकप्रियताका नाममा बदनाम गराउने प्रयास भइरहेको भन्दै उनले केवल डिजिटल लोकप्रियताले मात्र देश नचल्ने दाबी गरे।

पार्टी नेतृत्वको अदूरदर्शिता र घमण्डका कारण विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिलेको बताउँदै उनले विशेष महाधिवेशन र त्यसपछिका कानुनी प्रक्रियाहरू बदनियतपूर्ण भए तापनि कानुनी राज्यको सम्मान गर्दै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरेको प्रष्ट पारे।

तर, सबै पक्षलाई समेटेर अघि बढाउने जिम्मेवारी नेतृत्वकै भएको र पार्टी मिल्छ भने आफूहरू पद त्याग्न पनि तयार रहेको उनले बताए। हाल उपचारका क्रममा विदेशमा रहेका शेरबहादुर देउवा करिब एक सातामा स्वदेश फर्किने र उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै बरालले समयमै नेतृत्वले आत्मसमीक्षा नगरे कांग्रेस र देश दुवै ठूलो दुर्घटनातर्फ धकेलिन सक्ने आशंका व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *