प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

डिसी नेपाल
५ साउन २०८३ १२:१३

काठमाडौँ। मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ।

नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमका बीच ‘ई मास फाइभ’ कारको प्राइम र प्रिमियम गरी दुई भेरिएन्ट नेपाली बजारमा उपलब्ध गराएको हो। कम्पनीले प्राइम भेरिएन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तय गरेको छ।

यसअघि नेपाली बजारमा ‘ई मास सेभेन’ उपलब्ध गराएको कम्पनीले अहिले ‘ई मास फाइभ’ लाई रियर ह्विल ड्राइभ अप्सनमा ल्याएको हो। ब्याट्री क्षमताका हिसाबले ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर र प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

यी ब्याट्रीले एक पटकको फुल चार्जमा क्रमशः २ सय २५ किलोमिटर र ३ सय २५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीले गरेको छ। त्यसैगरी, प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।

गाडीको आन्तरिक बनावट (इन्टेरियर) लाई आधुनिक र सुविधासम्पन्न बनाइएको छ, जसमा १४.६ इन्चको मुख्य स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्क्सनल स्टेयरिङ ह्विल, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्री जस्ता विशेषताहरू उपलब्ध छन्।

सुरक्षाका दृष्टिले कारमा ६ वटा एयरब्याग, एडास (ADAS) प्रविधि र ३६० डिग्री क्यामेरा राखिएका छन्। प्रोटोन ई मास फाइभले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ को उपाधि समेत प्राप्त गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *