सर्लाहीमा एकै महिनामा ५० जना बेपत्ता: २३ जना मात्रै फेला, बालिकाको संख्या सबैभन्दा बढी
सर्लाही। सर्लाही जिल्लामा पछिल्लो एक महिनाको अवधिमा ५० जना मानिस हराएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार असार महिनामा हराएका ५० जनामध्ये २३ जना मात्रै फेला परेका छन् भने बाँकी २७ जनाको अझै अत्तोपत्तो पाउन सकिएको छैन।
हराउनेहरूमा १७ जना महिला, ३ जना बालक, २६ जना बालिका र ४ जना ज्येष्ठ नागरिक रहेका छन्। उक्त अवधिमा कुनै पनि पुरुष हराएको निवेदन दर्ता नभएको र हराउनेहरूमा सबैभन्दा बढी संख्या बालिकाको रहेको प्रहरीको विवरणले देखाएको छ।
प्रहरीले चलाएको खोजी अभियानका क्रममा असार महिनाभरिमा ९ जना महिला, १ जना बालक, १२ जना बालिका र १ जना ज्येष्ठ नागरिक गरी कुल २३ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ।
यद्यपि, हराएकामध्ये आधाभन्दा बढी अर्थात् २७ जना अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्रताका साथ अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम नयाँ भने होइन, पछिल्ला केही महिनादेखि प्रहरीको मासिक विवरणमा यस्ता घटनाहरू निरन्तर देखिँदै आएका छन्।
विशेष गरी बालिका हराउने घटना उल्लेख्य रूपमा बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ। लगातार रूपमा मानिसहरू हराउने र अपेक्षित रूपमा फेला पर्न नसक्ने अवस्था दोहोरिएपछि अभिभावकको निगरानी, बालबालिकाको सुरक्षा तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।
सर्लाही भारतसँग सीमा जोडिएको जिल्ला भएकाले खुला सीमाको दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीको खोजी अभियानसँगै परिवार, विद्यालय, स्थानीय तह र सरोकारवाला निकायहरूबिचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने जोड दिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment