बागमती सरकारबाट बाहिरिँदै एमाले : आजै मन्त्रीहरूले राजीनामा बुझाउने तयारी

डिसी नेपाल
५ साउन २०८३ १७:००

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। पार्टी केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरे पनि आज केन्द्रको नयाँ निर्देशन बमोजिम राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताएका छन्।

उनका अनुसार आजै एमालेका ६ जना मन्त्रीहरूले प्रदेश सुशासन केन्द्र जावलाखेलमा पुगी मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउँदै छन्। साथै, प्रदेश सरकारलाई दिएको समर्थनसमेत आजै फिर्ता लिइनेछ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी केन्द्रको निर्देशनअनुसार नै मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट अलग हुने तयारी भएको बताएका छन्। नयाँ सरकार गठनका विषयमा केन्द्रबाट आउने निर्देशन अनुसार नै आगामी कदम चालिने उनको भनाइ छ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ मन्त्रीका रूपमा सहभागी छन्। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै प्रदेश सरकारले १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गरे पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *