बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस

डिसी नेपाल
६ साउन २०८३ ७:१५

काठमाडौं। नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपाली कांग्रेस, बीपी चिन्तनसँग आबद्ध संघसंस्था तथा नागरिक समाजले उनको राजनीतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जलि सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन्।

नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताका लागि जीवनभर अडिग रहनुभएका बीपी नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन्।

वि.सं. १९७१ भदौ २४ गते भारतको वाराणसीमा जन्मिएका बीपीले बाल्यकालदेखि नै राजनीतिक चेतना प्राप्त गरेका थिए। २००७ सालको जनक्रान्तिमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गराएको थियो।

राणा शासनको अन्त्यपछि सम्पन्न २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई-तिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

प्रधानमन्त्रीका रूपमा उनले भूमिसुधार, शिक्षा विस्तार र आर्थिक विकासलाई प्राथमिकता दिए। तर, २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि प्रहार गर्दै संसद् विघटन गरेपछि बीपीसहित शीर्ष नेताहरूलाई बन्दी बनाइयो। लामो जेल जीवन र निर्वासनका कठिन परिस्थितिमा पनि उनी सिद्धान्तबाट विचलित भएनन्।

वि.सं. २०३३ सालमा बीपीले अघि सारेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमै एउटा दूरदर्शी र ऐतिहासिक कदम मानिन्छ। घाँटीको क्यान्सरका कारण वि.सं. २०३९ साउन ६ गते उनको निधन भएको थियो। उनको स्मृतिमा सुन्दरीजलस्थित तत्कालीन बन्दीगृहलाई ‘बीपी संग्रहालय’का रूपमा विकास गरिएको छ, जहाँ उनका व्यक्तिगत सामग्री र २००७ सालको क्रान्तिमा प्रयोग गरिएका ऐतिहासिक वस्तुहरू सुरक्षित छन्।

राजनीतिबाहेक नेपाली साहित्यमा पनि बीपीको योगदान अतुलनीय छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू मनोवैज्ञानिक र अस्तित्ववादी साहित्यका कालजयी कृति हुन्।

बीपीको नीति बिर्सिँदै कांग्रेसभित्र मौलाउँदो गुटबन्दी र विवाद

यता, बीपीले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ र ‘लोकतान्त्रिक समाजवाद’को सिद्धान्तको चर्चा भइरहँदा उनकै मातृ पार्टी नेपाली कांग्रेसभित्र भने आन्तरिक विवाद र गुटबन्दी चरम उत्कर्षमा पुगेको छ। बीपी स्मृति दिवस मनाइरहँदा पार्टीको संस्थापन पक्ष र रूपान्तरण पक्ष (इतर समूह) बीचको दूरी थप फराकिलो बन्दै गएको देखिन्छ।

विशेष गरी आसन्न महाधिवेशनको कार्यतालिका, भ्रातृ संगठनहरूको भद्रगोल अवस्था, महासमिति बैठकका निर्णयहरू कार्यान्वयनमा ढिलाइ र सरकारमा सहभागिता तथा सत्ता समीकरणका विषयलाई लिएर शीर्ष नेताहरूबीच तीव्र मतभेद कायमै छ।

यतिमात्रै हाेइन, कांग्रेस विभाजनकाे डिलमा पुगेकाे छ। बीपीले सधैँ विचार र निष्ठाको राजनीतिमा जोड एको भए पनि वर्तमान नेतृत्वले सत्ता र पदीय भागबन्डालाई मात्र केन्द्रमा राखेको भन्दै युवा नेता तथा कार्यकर्ताहरूमा चरम निराशा छाएको छ। पार्टीभित्र बीपीको मेलमिलापको नीतिलाई आफ्नै सहकर्मीहरूसँग लागू गर्न नसकेको र वैचारिक निष्ठा कमजोर बन्दै गएको भन्दै शीर्ष नेतृत्वको आलोचना भइरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बीपीले देखाउनुभएको लोकतान्त्रिक संस्कार, विधिको शासन र सिद्धान्तको राजनीतिलाई व्यवहारमा उतार्न सके मात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *