राजनीतिक समीकरणमा फेरबदल: २५ महिनापछि प्रदेशहरूमा पुन: भित्रियो एमाले-नेकपा सहकार्य

डिसी नेपाल
६ साउन २०८३ १०:४७

काठमाडौं। सत्ता गठबन्धनभित्रको बढ्दो चिसोपना र राजनीतिक खिचातानीकाबीच नेपालको प्रादेशिक सत्ता समीकरणमा नाटकीय फेरबदल आएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य सुदूरपश्चिम, कर्णाली र बागमती लगायतका प्रदेशहरूमा भत्किएसँगै दुई ठूला कम्युनिस्ट शक्तिहरू एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झन्डै २५ महिनापछि पुन: एकै ठाउँमा उभिने भएका छन्।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब तीन घण्टा लामो सघन छलफल भएको थियो।

ओली निवास गुण्डुबाट सुरु भएको संवादको शृङ्खलाले प्रदेश सरकारहरूमा साझेदारी गर्ने, आगामी स्थानीय तथा प्रादेशिक निर्वाचनमा चुनावी तालमेल गर्ने र दीर्घकालीन रूपमा वाम एकताको जग बसाल्नेसम्मका विषयमा सकारात्मक मोड लिएको छ।

उक्त भेटवार्तापश्चात् मधेस प्रदेशको प्रशिक्षण कार्यक्रमका लागि जनकपुर पुगेका संयोजक प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको पुष्टि गरे।

नेकपाले सुरुमा कांग्रेस र एमाले दुवैलाई मिलाएर तीन दलीय स्थिरताको प्रस्ताव राखेको भए पनि कांग्रेसले प्रतिपक्षमा बस्ने रुचि देखाएपछि प्रदेश सभाहरू जोगाउन र राजनीतिक शून्यता टार्न एमालेसँगको वाम गठबन्धन अनिवार्य बनेको नेताहरूको भनाइ छ।

यता एमाले सचिव महेश बस्नेतले पनि दुई शीर्ष नेताहरूको भेटले वाम सहकार्यलाई औपचारिक उचाइ दिएको बताउँदै यसले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

जनकपुरबाट प्रचण्ड काठमाडौँ फर्किएपछि दुवै दलका शीर्ष नेतृत्वबिच नयाँ शक्ति साझेदारीको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी छ।

केन्द्रमा नयाँ राजनीतिक शक्ति (रास्वपा) को उदयपछि विपक्षमा पुगेका यी पुराना दलहरूका लागि प्रदेशहरूमा आफ्नो साख र सत्ता जोगाउन यो नयाँ वाम गठबन्धन निर्णायक बन्ने देखिएको छ।

यससँगै आगामी केही दिनभित्रै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका प्रदेशहरूमा नयाँ मुख्यमन्त्री र मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया तीव्र रूपमा अघि बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *