नेपाली चलचित्र ‘गौँथली’ आगामी शुक्रबारदेखि अमेरिकाभर: २६ राज्यका ५६ लोकेसनमा १,००० भन्दा बढी शो

डिसी नेपाल
६ साउन २०८३ १३:५५

काठमाडौं। नेपालमा भव्य सफलता हासिल गरेको बहुप्रतीक्षित कथानक चलचित्र ‘गौँथली’ यही शुक्रबार, जुलाई २४ देखि अमेरिकाभर प्रदर्शन हुने भएको छ। डा. कपिल रिजालको निर्देशनमा बनेको २ घण्टा १९ मिनेट लामो यस चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको छ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, सीतादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना, राजेन्द्र नेपाली तथा बालकलाकारहरू अंशु ओली र प्रिन्स नेपालीको सशक्त अभिनय देख्न सकिन्छ।

अमेरिकामा रहेका नेपाली दर्शकहरूको उच्च मागलाई सम्बोधन गर्दै चलचित्रलाई २६ राज्यका ५६ वटा सिनेमा लोकेसनमा पहिलो हप्तामै १,००० भन्दा बढी शोहरूसहित भव्य रूपमा उतारिन लागिएको हो। देशव्यापी प्रदर्शनअघि जुलाई २३ (बिहीबार) मा तीन प्रमुख सहरहरूमा विशेष पूर्वप्रदर्शन (प्रिभ्यु शो) राखिएको छ। जसअन्तर्गत डलास–फोर्ट वर्थ (टेक्सस) को सिनेपोलिस लक्जरी सिनेमाज, ह्यारिसबर्ग (पेन्सिलभेनिया) को रिगल थिएटर र कोलम्बस (ओहायो) को मार्कस थिएटरमा दर्शकले चलचित्र हेर्न पाउनेछन्।

त्यसपछि जुलाई २४ देखि यो चलचित्र अमेरिकाका २६ राज्यहरू- टेक्सस (९ लोकेसन), ओहायो (७), क्यालिफोर्निया (४), न्युयोर्क (४), आयोवा (३), पेन्सिलभेनिया (३), एरिजोना (२), कोलोराडो (२), केन्टकी (२), मिसौरी (२), भर्जिनिया (२), वासिङ्टन (२) तथा अलास्का, जर्जिया, इलिनोइ, मेरिल्यान्ड, नेब्रास्का, नेभाडा, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओक्लाहोमा, ओरेगन, साउथ डकोटा, टेनेसी, युटाह र विस्कन्सिनका तोकिएका सिनेमा हलहरूमा नियमित प्रदर्शन हुनेछ।

शिक्षा, महिला सशक्तीकरण र एक संवेदनशील प्रेम कथालाई केन्द्रमा राखिएको यो चलचित्र वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालको कथा र उहाँकी पत्नी सरला रिजालको वास्तविक जीवन सङ्घर्षबाट प्रेरित छ। सानै उमेरमा विवाह भए पनि पढाइप्रतिको दृढ सङ्कल्प नछाड्ने ग्रामीण युवती (सिम्रन खड्का) र अटिजम स्पेक्ट्रममा रहेका युवक (अरुण क्षेत्री) बिचको भावनात्मक सम्बन्ध र वैवाहिक यात्रालाई चलचित्रमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

चलचित्रको अग्रिम टिकट बिक्री खुला भइसकेको छ। आयोजकले दर्शकहरूलाई आफ्नो नजिकको सिनेमा हल, शो टाइम तथा टिकटसम्बन्धी जानकारी हेरेर बेलैमा सिट सुरक्षित गर्न अनुरोध गरेका छन्।

टिकट, सिनेमा लोकेसन र शो टाइमका लागि: वेबसाइट:

[https://us.7seas.film/movie/Gauthali](https://us.7seas.film/movie/Gauthali) फेसबुक: [7 Seas International](https://www.facebook.com/7seas.int)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *