वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति

डिसी नेपाल
६ साउन २०८३ २२:०८
बागमती । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे अवधिमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको छ।
मन्त्रालयका एक वर्षे कार्यकालका उपलब्धिबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले सो अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चमा ८६ प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिए। यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण संशोधन विधेयक तयार भई प्रदेशसभामा पुगेको उनले जानकारी दिए।
मन्त्रालयबाट नवप्रवर्तन, अनुसन्धान तथा विशेषन अभियानअन्तर्गत हरेक जिल्लामा एक टिमुर बगैँचा, एक फलफूल वन अभियान, एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियानजस्ता कार्यक्रम अघि बढाइएको मन्त्री केसीले बताए। जलाधार, वातावरण संरक्षण तथा विपद् न्यूनीकरण कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लामा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
हरित अर्थतन्त्र, उद्यम तथा रोजगारी कार्यक्रमअन्तर्गत राजमार्ग आसपास हरित उद्यम विकास, नेपालमा पहिलो सन्ध्याकालीन जङ्गल सफारी सञ्चालनमा सहयोगजस्ता कार्यक्रम सञ्चालन गरिएको मन्त्री केसीले बताए।
यस अवधिमा स्थानीय तहसँग संस्थागत सहकार्य विस्तार, वन अपराध नियन्त्रण प्रणाली सुदृढ, हरित प्रदेश अभियान सञ्चालन आदि कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।
नीति तथा कानुनी सुधारअन्तर्गत प्रदेशका ९३ प्रतिशत सामुदायिक वन कार्ययोजनायुक्त गरिएको उल्लेख गर्दै उहाँले सरकारी भवनमा स्वदेशी काठको प्रयोग प्रवर्द्धन गर्ने नीतिगत निर्णय गरिएको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *