नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज मनाइँदै
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालका विभिन्न कम्युनिस्ट घटकहरू, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायतका राजनीतिक दलहरूले विचार गोष्ठी, श्रद्धाञ्जली सभा तथा विविध रचनात्मक कार्यक्रमको आयोजना गरी पुष्पलालको योगदानको स्मरण गर्दै दिवस मनाउन लागेका हुन्।
विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मनुभएका पुष्पलाल सहिद गंगालाल श्रेष्ठका भाइ हुन्।
उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित प्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ (कम्युनिस्ट घोषणापत्र) को पहिलो पटक नेपालीमा अनुवाद गरी नेपालमा साम्यवादी विचारको जग बसालेका थिए। यसका साथै आफ्ना विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै प्रगतिशील रूपान्तरणको दिशा निर्देश गरेका थिए।
पुष्पलालले निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर विक्रम संवत् २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।
नेकपा गठन गर्नुअघि उनले विक्रम संवत् १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको समेत गठन गरेका थिए।
उनले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने दूरदर्शी राजनीतिक अवधारणा अघि सार्नुभएको थियो, जुन पछि २०४६ सालको आन्दोलनको जग बन्यो।
प्रवासमा रहेर निरन्तर कम्युनिस्ट आन्दोलनलाई नेतृत्व प्रदान गरेका पुष्पलालको विक्रम संवत् २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनको ४८औँ स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले) बागमती प्रदेश कमिटीका साथै अन्य वामपन्थी दल तथा भ्रातृ संगठनहरूले राजधानी र देशका विभिन्न स्थानमा विशेष कार्यक्रमहरूको आयोजना गरेका छन्।






डिसी नेपाल





Facebook Comment