बाजुरामा बाढी-पहिरोको कहर: १६ घरधुरी प्रभावित, साँफे-मार्तडी राजमार्ग अवरुद्ध
बाजुरा। बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। लगातारको वर्षाले नौवटै स्थानीय तहका साना तथा ठूला नदीहरूमा पानीको बहाव बढेपछि बस्ती, सडक र कृषि क्षेत्र प्रभावित बनेका छन्।
सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहितका स्थानमा बाढी र पहिरो आएपछि धेरै परिवार विस्थापित भएका छन्। घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा राति नै खटिएको प्रहरी टोलीले उद्धार कार्य चलाएको थियो। प्रहरीले जोखिममा परेका नागरिक तथा उनीहरूका सरसामान सुरक्षित स्थानमा सारेको छ।
साँफे-मार्तडी सडकखण्ड ठप्प, १६ घरधुरी प्रभावित
भारी वर्षा र पहिरोकै कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध बनेको छ। सडक ठप्प हुँदा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
बडिमालिका नगरपालिका–९ स्थित सेलागाड क्षेत्रमा घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन् जिल्ला प्रहरी कार्यालयका अनुसार ३ घरधुरी (२२ जना सदस्य) पूर्ण रूपमा बस्न नमिल्ने गरी उच्च जोखिममा परेका छन् भने बाँकी १३ घरधुरी (८३ जना सदस्य) पनि जोखिममा रहेका छन्।
यसैगरी पहिरोले राप्का क्षेत्रमा रहेको टोट्के सिँचाइ नहरको २०० एमएम क्षमताको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको छ। बाढी-पहिरोले ठूलो क्षेत्रफलको खेतीयोग्य जमिनसमेत बगरमा परिणत गरिदिएको छ।
डेढ सयभन्दा बढी बस्ती बाढी-पहिरोको जोखिममा
जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा छन्।
बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका अधिकांश गाउँबस्तीहरू वर्षेनी बाढी-पहिरोको जोखिम झेल्न बाध्य छन्। वर्षायाम सुरु हुनासाथ स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था छ।
स्थानान्तरणमा ढिलाइ र पूर्वसतर्कताको अपिल
बाजुराको अधिकांश भूगोल भिरालो र पहिरो खस्ने प्रकृतिको भएकाले वर्षेनी यस्ता विपद् दोहोरिने गरेका छन्। जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण वा एकीकृत बस्ती विकास गर्ने चर्चा चले पनि कार्यान्वयन भने सुस्त छ। गत वर्ष प्रभावित परिवारका लागि अस्थायी टहरा बनाउन करिब ६ करोड रुपैयाँ स्थानीय तहको खातामा पठाइएको थियो।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सबै जोखिमयुक्त बस्तीलाई तत्कालै स्थानान्तरण गर्न व्यवहारिक रूपमा कठिन हुने बताएका छन्। उनले वर्षायामभर आधिकारिक सञ्चार माध्यमका सूचना ध्यानपूर्वक सुन्न, पूर्वसूचना प्राप्त गर्नासाथ सतर्कता अपनाउन र नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका बासिन्दालाई उच्च सजगता अपनाउन आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment