चलचित्र ‘गौँथली’: सामाजिक पीडाभित्र आशा खोज्ने एक सशक्त यात्रा
काठमाडाैं। पछिल्ला केही वर्षयता नेपाली चलचित्र उद्योगमा सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर कथा बुन्ने क्रम बढेको छ। दर्शक पनि मनोरञ्जनका साथै समाजको यथार्थ पस्कने र मन्थन गर्न बाध्य बनाउने चलचित्रतर्फ आकर्षित भइरहेका छन्।
यही परिवेशमा निर्मित ‘गौँथली’ले पुरानो नेपाली ग्रामीण समाजलाई आधार बनाएर महिला शिक्षा, बालविवाह, पारिवारिक संरचना, सामाजिक विभेद र मानवीय सम्बन्धलाई कलात्मक रूपमा पर्दामा उतारेको छ। यो चलचित्रले एक महिलाको दुःख मात्र होइन, विषम परिस्थितिसँग जुध्दै आफ्नो पहिचान बनाउने प्रेरक यात्रा पनि प्रस्तुत गर्छ।
निर्देशक डा. कपिल रिजालले आफ्नो दोस्रो निर्देशकीय प्रयासमा हल्का मनोरञ्जनभन्दा फरक र गम्भीर बाटो रोजेका छन्। अघिल्लो चलचित्र ‘ह्यारीकी प्यारी’ सोचेजस्तो सफल नभएपछि उनले यसपटक मौलिक र भावनात्मक सामाजिक कथा रोजेका हुन्। यस प्रयासमा निर्देशकले कथा र प्रस्तुतिमा गरेको मिहिनेत स्पष्ट देखिन्छ।
‘गौँथली’को कथा उतिबेलाको हो, जब गाउँघरमा छोरीको इच्छाभन्दा परिवारको निर्णय निर्णायक हुन्थ्यो, महिला शिक्षालाई प्राथमिकता दिइँदैनथ्यो र बालविवाह सामान्य मानिन्थ्यो। मुख्य पात्र गौँथली पढाइमा अब्बल छिन् र एसएलसी पास गरेर आफ्नो भविष्य आफैँ बनाउने सपना देख्छिन्।
तर, परिवारले आर्थिक अवस्था र सामाजिक प्रतिष्ठाको नाममा उनको सानैमा विवाह गरिदिन्छ। विवाहपछि मात्र आफ्ना श्रीमान् (ठूले) मानसिक रूपमा फरक क्षमता भएका व्यक्ति हुन् भन्ने तथ्य उनले थाहा पाउँछिन्, जहाँबाट कथाले नयाँ मोड लिन्छ।
चलचित्रले हतार नगरी पात्रहरू, उनीहरूको पारिवारिक स्थिति र गाउँको वातावरणलाई विस्तारै स्थापित गर्छ। सुरुवातका केही दृश्य सुस्त लागे पनि कथा अघि बढेसँगै दर्शक पात्रहरूसँग भावनात्मक रूपमा जोडिन्छन्।
चलचित्रको सबैभन्दा बलियो पक्ष ‘गौँथली’ र ‘ठूले’बिचको निष्कपट सम्बन्ध हो। परम्परागत रोमान्सभन्दा फरक, यहाँ साना-साना सहयोग र सद्भावबाट प्रेम व्यक्त गरिएको छ। ठूलेका निष्स्वार्थ व्यवहार-गौँथलीलाई पढ्न पठाउन बाख्रा चराइदिने र उनको खुसीमा रमाउने दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन्। चलचित्रले प्रेम भनेको एकअर्काको सपना पूरा गर्न साथ दिनु हो भन्ने सन्देश दिन्छ।
यस चलचित्रले शिक्षालाई स्वतन्त्र सोच, आत्मनिर्भरता र आत्मसम्मानको आधारका रूपमा प्रस्तुत गरेको छ। सासूको प्रताडना र सामाजिक बन्धनका बाबजुद गौँथलीले पढाइप्रतिको अठोट छाड्दिनन्। आज पनि देशका धेरै ठाउँमा लैङ्गिक विभेद कायम रहेकाले यो कथा उत्तिकै सान्दर्भिक लाग्छ।
अभिनयको दृष्टिकोणले, सिम्रन खड्काले गौँथलीको मुख्य भूमिकालाई परिपक्व ढङ्गले निभाएकी छन्। किशोरीदेखि सङ्घर्षशील महिलासम्मको रूपान्तरणलाई उनले सहज ढङ्गले प्रस्तुत गरेकी छन्।
ठूलेको भूमिकामा अरुण क्षेत्रीको अभिनय सन्तुलित र प्रभावकारी छ। यद्यपि, केही दृश्यमा उनको पात्रको मानसिक अवस्थाको निरन्तरतामा भने केही अस्पष्टता देखिन्छ। सासूको कठोर भूमिकामा लुनिभा तुलाधरको अभिनय जीवन्त छ भने मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे र रविन्द्र झा लगायतका कलाकारले पनि आ-आफ्नो भूमिकामा न्याय गरेका छन्।
चलचित्रको छायाङ्कनले गाउँले परिवेश, हरियाली र प्राकृतिक वातावरणलाई सुन्दर ढङ्गले कैद गरेको छ। सङ्गीत र पार्श्व सङ्गीतले कथाको मर्म र भावनात्मक दृश्यहरूलाई थप प्रभावकारी बनाएका छन्।
केही दृश्यहरू अनावश्यक रूपमा लामा हुनु, सुरुवात केही खुकुलो हुनु र परिवारलाई थाहा नदिई लामो समय विद्यालय जानु जस्ता केही नाटकीय पक्षहरू यसका कमजोरीका रूपमा रहेका छन्। यस्ता केही प्राविधिक र पटकथागत कमजोरीका बाबजुद, कलाकारहरूको मिहिनेत र कथाको संवेदनशीलताले ‘गौँथली’लाई एक अर्थपूर्ण नेपाली चलचित्र बनाएको छ।
समग्रमा, ‘गौँथली’ पीडा र आँसुमा मात्र सीमित नभई आशा र सामाजिक परिवर्तनको सन्देश दिने चलचित्र हो। नेपाली समाजको यथार्थ, महिलाको सङ्घर्ष र भावनात्मक कथा मन पराउने दर्शकका लागि यो चलचित्र एक उत्कृष्ट रोजाइ बन्न सक्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment