डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो

डिसी नेपाल
९ साउन २०८३ १५:१०

धनगढी। धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ।

उनका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको रगतमा सुगरको मात्रा घटेर ४९ मा झरेको छ भने रक्तचाप १०० मा सीमित भएको छ। साथै, शरीरमा पोटासियमको मात्रासमेत घटेको छ।

डा. केसीले आफू अनसनमै रहेकाले सोहीअनुसारको औषधि मात्र प्रयोग गर्न आग्रह गर्दै सुगरको औषधि लिन अस्वीकार गर्नुभएको छ। हाल सेती अस्पतालका डा. गजेन्द्र दुवालको नेतृत्वको टोलीले उहाँको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।

यसैबीच, शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा. केसीका सहयोगी डा. जैसीसँग छलफल गर्नुका साथै राति करिब ११ बजे डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। संवादका क्रममा मन्त्री पोखरेलले डा. केसीका माग सम्बोधन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।

जवाफमा डा. केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन पठनपाठन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने मुख्य अडान राखेका थिए।

मन्त्री पोखरेलले यी विषय समाधानका लागि वार्ता टोली गठन गर्ने र आवश्यकता परे आफैँ धनगढी आउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्कातिर, डा. केसी अनसनरत स्थल धनगढीको कृष्ण मन्दिर बाहिर भने स्थानीयवासीले प्रदर्शन गरेका छन्। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिने षड्यन्त्र भएको आरोप लगाउँदै स्थानीयहरूले शनिबार बिहान डा. केसीविरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *