रसुवाको चिलिमे पुल नजिकै भ्यान त्रिशूलीमा खसेर बेपत्ता
रसुवा। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुल नजिकै पासाङल्हामु सडकखण्डमा गुडिरहेको एउटा विद्युतीय भ्यान (ईभी) शनिबार साँझ त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको ‘अन टेस्ट’ (नम्बर प्लेट नराखिएको) ईभी भ्यान शनिबार साँझ करिब ५:४५ बजे सडकबाट करिब २५ मिटर तल उर्लिंदो त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। दुर्घटनालगत्तै गाडी र चालक दुवै नदीमा बेपत्ता भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। यद्यपि, वर्षायामका कारण त्रिशूली नदीमा पानीको बहाव तीव्र र धमिलो भएकाले खोजी कार्य जटिल बनेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका गाडी चालकको पहिचान अझै खुल्न सकेको छैन। भ्यानमा चालकलगायत अन्य यात्रुहरू पनि सवार थिए वा चालक मात्रै थिए भन्ने विषयमा यकिन जानकारी आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीमा अन्य यात्रु थिएकी थिएनन् त्योसमेत यकिन हुन नसकेको प्रहरीको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment