एमबिएसको प्रश्नपत्र बाहिरिएको घटना: अनुसन्धानका लागि केही व्यक्ति पक्राउ
काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार बिहान उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
गत साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएको थियो। घटनालगत्तै त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले पनि अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले प्रश्नपत्र बाहिरिएको घटनाको सूक्ष्म छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिको सदस्यहरूमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहेका छन्। उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment