एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: कैलालीका सन्दीप सिंह भक्तपुरबाट पक्राउ
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘MGT 515: Organizational Behaviour’ विषयको परीक्षा सुरु हुनासाथ वा त्यसअघि नै प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा भाइरल बनाइएको थियो। प्रश्नपत्रको गोपनीयता भङ्ग भएको उजुरी र सूचनाका आधारमा सूक्ष्म अनुसन्धान थालेको सीआईबीले सिंहलाई मध्यपुर थिमी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सिंहविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ। उनीमाथि अदालतबाट म्याद थप गरी घटनामा अन्य व्यक्तिको संलग्नता वा संगठित सञ्जाल रहे/नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षाहरू अझै सञ्चालन भइरहेकाले प्रश्नपत्र चुहावट वा परीक्षाको मर्यादाविपरीत हुने कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुन सीआईबीले सर्वसाधारण तथा परीक्षार्थीहरूमा अपिल गरेको छ।
परीक्षासम्बन्धी गोप्य सामग्री चुहाउने, खरिद-बिक्री गर्ने वा सामाजिक सञ्जालमा सेयर गर्नेजस्ता कार्य प्रचलित कानुनबमोजिम कडा दण्डनीय अपराध भएकाले त्यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कडा कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment