साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

डिसी नेपाल
११ साउन २०८३ ६:४७

काठमाडौं।साउन महिनाको दोस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका प्रमुख शिवालयहरूमा बिहानैदेखि पूजा-आराधना र दर्शन गर्ने श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीहरूको लर्को देखिएको छ।

भक्तजनको सुविधालाई ध्यानमा राख्दै बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो। पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा दर्शन, सुरक्षा र पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था परिचालन गरिएका छन्। लाखौँ भक्तजनलाई सहज र सुरक्षित वातावरणमा दर्शन गराउने गरी सम्पूर्ण तयारी गरिएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए।

बिहान ३:०० बजे खुलेका मन्दिरका ढोकाहरू साँझको आरतीपछि राति ८:०० बजेसम्म दर्शनार्थीका लागि खुला रहनेछन्। विशेष पूजाका लागि भने बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्मको समय तोकिएको छ। दर्शनार्थीका लागि चार वटा छुट्टाछुट्टै लामको प्रबन्ध मिलाइएको छ भने पशुपति क्षेत्रमा प्राथमिक उपचारलगायत अत्यावश्यक सेवाहरूको पनि उचित व्यवस्था गरिएको छ।

पशुपतिनाथका अतिरिक्त उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। त्यसैगरी देशका विभिन्न भागमा रहेका साना-ठूला शिवालयहरूमा पनि महादेवको पूजा-आराधना गर्ने भक्तजनको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *