प्रतिबन्धित वस्तुको बिक्री वितरण रोक्न विभागको चेतावनी, अनलाइन माध्यमबाट बेचे कारबाही हुने

डिसी नेपाल
११ साउन २०८३ १३:१९

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारद्वारा वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ।

विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम विभिन्न समयमा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आयात-निर्यातमा बन्देज लगाइएका सामानहरूको गैरकानुनी कारोबार नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको हो।

विभागका अनुसार वि.सं. २०७६ असार २ र २०७६ चैत २४ गते लगायतका विभिन्न मितिमा प्रकाशित राजपत्रको सूचनामार्फत निश्चित वस्तुहरूको पैठारीमा सर्त तोकिएको वा पूर्ण रूपमा मनाही गरिएको छ।

यद्यपि, बजारमा भौतिक पसलहरूका साथै विभिन्न अनलाइन तथा डिजिटल प्ल्याटफर्महरूमार्फत समेत यस्ता प्रतिबन्धित सामानहरू निर्बाध रूपमा बिक्री भइरहेको उजुरी र गुनासो प्राप्त भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ।

विभागले सम्पूर्ण पैठारीकर्ता, सञ्चयकर्ता तथा बिक्रेताहरूलाई कानुनले तोकेका सर्त र दायित्वहरूको पूर्ण पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।

यदि कानुनविपरीत प्रतिबन्धित वस्तुको भण्डारण वा बिक्री वितरण गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *