एकै दिन क्लब नोभामा सविन राई र नविन के. भट्टराईको लाइभ कन्सर्ट हुने, टिकटबाट क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फराओ र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा ठूलो क्लबका रूपमा परिचित ठमेलस्थित क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
स्मार्ट जीको प्रस्तुतिमा आयोजना हुन लागेको कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित तथा सदाबहार गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति पनि रहनेछ।
यसपटक आयोजकले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ। क्यान्सरसँग जुधिरहेकी रेखा गुप्ताको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम सहयोग गरिने आयोजकले जनाएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शक उक्त अभियानको साझेदार बन्नेछन्।
“द रक लेगेसी’ केवल एउटा कन्सर्ट मात्र होइन, नेपाली रक संगीतका दुई प्रतिष्ठित ब्यान्डलाई एउटै मञ्चमा अनुभव गर्ने विशेष अवसर हो,’ कार्यक्रमबारे स्मार्ट जीकी रेश्मा श्रेष्ठले भनिन्, ´’सपटक हामीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने प्रयास गरेका छौं। ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम क्यान्सरसँग संघर्ष गरिरहेकी मिस रेखा गुप्ताको उपचारका लागि सहयोग गरिनेछ। त्यसैले दर्शकले टिकट खरिद गरेर उत्कृष्ट सांगीतिक अनुभवसँगै एउटा मानवीय अभियानमा पनि साथ दिन सक्नुहुनेछ।’
कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई–सेवा टिकटिङ पार्टनर रहेको आयोजकले जनाएको छ। टिकटको मूल्य सामान्य प्रवेशका लागि रु. १,००० र भिआइपी प्रवेशका लागि रु. १,५०० निर्धारण गरिएको छ।
ठूलो संख्यामा संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रमले नेपाली रक संगीतका दुई पुस्तालाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै सामाजिक सेवाको सन्देश पनि प्रवाह गर्ने विश्वास आयोजकको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment