देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र संयमता अपनाउन गगन थापाको आग्रह

डिसी नेपाल
११ साउन २०८३ १९:१८

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार जारी विज्ञप्तिमा थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

घटनाबारे सरकारसँग प्रश्न उठाउँदै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्यले अझ बढी संयम, सतर्कता र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै समयमै पर्याप्त समन्वय र सुरक्षा सतर्कता अपनाउन नसक्नु सरकारको गम्भीर सुरक्षा कमजोरी भएको उनको भनाइ छ।

थापाले सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन्।

उनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।

साथै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्न पनि सरकारलाई अनुरोध गरेका छन्।

यसैबीच, थापाले सबै पक्षलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। उनले अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप जटिल हुन नदिन तथा शान्ति र सद्भाव कायम राख्न स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *