स्वीकृत नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

डिसी नेपाल
१२ साउन २०८३ ८:००

काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गरी शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन्। सोमबार सहरी योजना आयोग, विभिन्न विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन्।

डंगोलले योजना अनुगमन तथा मूल्यांकन एकाइको ढाँचाअनुसार एक हप्ताभित्र वार्षिक कार्ययोजना पेस गर्न र प्रमुख प्रशासकीय अधिकृत तथा विभागीय प्रमुखबिच सूचकसहितको कार्यसम्पादन सम्झौता साउनभित्रै सम्पन्न गर्न निर्देशन दिइन्। साथै, सार्वजनिक खरिद प्रक्रियामा लैजानुपर्ने योजनाहरूको असोजभित्रै सूचना प्रकाशन गरिसक्न पनि उनले ताकेता गरिन्।

“वडाबाट प्रवाह हुने सेवालाई चुस्त बनाउन केन्द्रबाट आवश्यक सहयोग पुर्‍याउनुहोस्, मितव्ययी रूपमा कार्यालय सञ्चालन गर्नुहोस्,” कार्यवाहक प्रमुख डंगोलले भनिन्, “पुराना सामान मर्मत गरेर चलाउन सकिने भए चलाउने र नसकिने भए तत्काल लिलाम प्रक्रियामा लैजानुहोस्। सेवा प्रवाहमा सहजता ल्याउँदै वित्तीय अनुशासनमा अब्बल हुनुपर्छ।” उनले करको दायरा फराकिलो बनाउन, आन्तरिक तथा बाह्य समन्वय चुस्त राख्न र सहरी योजना आयोगबाट लिनुपर्ने सहायताका लागि तीन दिनभित्र माग पठाउनसमेत ताकेता गरिन्।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगर बनाउन विभागीय प्रमुखहरूले मातहतका कर्मचारीलाई मूल्याङ्कन सूचकसहित कार्य विवरण दिएर लक्षित नतिजा हासिल गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारी र सदस्य डा. सुरज काफ्लेले आयोग र विभागहरूबिचको निकट सहकार्य, साझा संकल्प र समान दृष्टिबाट मात्र दिगो नतिजा प्राप्त हुने धारणा राखेका थिए। बैठकलगत्तै प्रमुखको सचिवालयले निर्णय कार्यान्वयनका लागि सम्बद्ध सबै विभाग र आयोजनाहरूलाई परिपत्र गरिसकेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *