नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा

डिसी नेपाल
१३ साउन २०८३ १९:५८

काठमाडौं । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दिनमा आफ्नो नाम जोडेर भएका चर्चा, अनुमान र प्रचारप्रति आफू जानकार भएको पनि उल्लेख गरेका छन्।

जोशीका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानसँग आफ्नो नाम पहिलो पटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि जोडिएको थियो।

त्यसबेला प्रतिष्ठित संस्कृतिविद् डा. जगमान गुरुङ कुलपति बन्ने सम्भावना रहेको भन्दै आफूलाई सदस्य–सचिवका रूपमा सँगै काम गर्न प्रस्ताव गरिएको उनले उल्लेख गरेका छन्।

तर आफूले प्रशासनिक जिम्मेवारीभन्दा लेखन र साहित्य सिर्जनालाई प्राथमिकता दिएको भन्दै प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ। त्यसबेला पनि धेरै व्यक्तिमार्फत आग्रह आए पनि आफू आफ्नो निर्णयमा अडिग रहेको उनले स्मरण गरेका छन्।

त्यसपछि राजनीतिक समीकरण फेरिएसँगै उक्त नियुक्तिको प्रक्रिया अघि नबढेको उनको भनाइ छ।

जोशीले पछिल्लो प्रसंगमा अहिलेका संस्कृति मन्त्री गनेश पौडेलले आफूलाई चुनाव लड्ने प्रस्ताव गरेको पनि खुलाएका छन्।

मन्त्रीले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमध्ये कुनै एक विकल्प रोज्न आग्रह गरे पनि आफूले वैचारिक कारण र साहित्यिक यात्रालाई निरन्तरता दिने निर्णयका कारण चुनावमा सहभागी हुन अस्वीकार गरेको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

उनका अनुसार त्यसपछि नेपाल प्रज्ञा–प्रतिष्ठान गठनको प्रक्रिया सुरु हुँदा फेरि आफूलाई सदस्य–सचिवका रूपमा काम गर्न आग्रह गरिएको थियो।

सुरुमा कुलपति बन्ने व्यक्तिको विषयमा जानकारी लिँदै आफूले समकालीन लेखक कुमार नगरकोटी कुलपति हुने भए आफू उपकुलपति भए मात्र काम गर्ने प्रस्ताव राखेको उनले उल्लेख खुलासा गरेका छन्।

तर उपकुलपतिको पद पहिले नै तय भइसकेको जानकारी पाएपछि सदस्य–सचिवका रूपमा काम गर्न पुनः आग्रह आएको उनको भनाइ छ।

जोशीले संस्कृति मन्त्री पौडेलसँग भएको संवाद पनि सार्वजनिक गरेका छन्। मन्त्रीले सदस्य–सचिवको जिम्मेवारी स्वीकार गर्न आग्रह गरेपछि आफूले एउटा सर्त राखेको उनले लेखेका छन्।

विगत दुई वर्षदेखि लोकगायक तथा संस्कृतिविद् यज्ञराज उपाध्यायसँग ‘पठन संस्कृति उत्प्रेरणात्मक अभियान’ सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले उपाध्यायलाई पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा अवसर दिलाइए आफू सदस्य–सचिव बन्न तयार रहेको जानकारी मन्त्रीलाई दिएको बताएका छन्।

जोशीका अनुसार त्यसपछि उपाध्यायको बायोडाटा, नागरिकताको प्रतिलिपि र प्राज्ञ सभाका लागि सात जनाको नामसमेत सिफारिस गर्न भनिएको थियो।

आफूले सम्बन्धित व्यक्तिहरूको सहमति लिएर नाम पठाएपछि ती नाम सार्वजनिक भएका र त्यससँगै विभिन्न अड्कलबाजी, लबिङ र चलखेल सुरु भएको उनले उल्लेख गरेका छन्।

यही क्रममा आफूलाई अत्यन्त माया गर्ने एक अग्रजले दिएको सुझाव अहिले वास्तविकतामा परिणत भएको उनले उल्लेख गरेका छन्।

ती अग्रजले ‘सिंहदरबार वरिपरि वर्षौंदेखि सक्रिय रहेका शक्ति केन्द्रका मानिसहरूलाई पन्छाएर तिमी सदस्य–सचिव बन्न सक्दैनौ’ भन्दै अन्ततः आफू नियुक्त नहुने चेतावनी दिएको प्रसंग स्मरण गर्दै जोशीले त्यसलाई ‘सुन बबुवा’ को सल्लाहका रूपमा उल्लेख गरेका छन्।

उनका अनुसार केही समयपछि फेरि छनोट समितिका नारायण ढकालको फोन आएको र विभिन्न दबाबका कारण सदस्य–सचिवको सट्टा सदस्यका रूपमा बस्न प्रस्ताव गरिएको जानकारी दिइएको थियो।

त्यसपछि आफूले गम्भीर आत्ममूल्यांकन गर्दै कुनै पनि पद नलिने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।

‘मेरो मूल धर्म लेखन हो, मूल कर्म साहित्य सेवा हो। यो धर्म र कर्म छोडेर कुनै पदको पछि लाग्ने मेरो इच्छा थिएन, छैन र हुने पनि छैन,’ जोशीले सामाजिक सञ्जालमा लेखेका छन्।

जोशीले आफूले जीवनमा कुनै पनि सार्वजनिक पदका लागि आवेदन, निवेदन वा दरखास्त नदिएको उल्लेख गर्दै गठन हुन लागेको नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने औपचारिक घोषणा गरेका छन्।

उनले आफ्नो सार्वजनिक धारणा अन्त्यमा विगतका संवाद वा व्यवहारबाट कसैको मन दुखेको भए क्षमायाचना गर्दै भविष्यमा पनि साहित्य सिर्जना र समाजप्रतिको आफ्नो दायित्वमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

जोशीले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ:

प्रष्टिकरण : नेपाल प्रज्ञा-प्रतिष्ठान गठनको चर्चा र मेरो कुरा :

२०७९ मङ्सिरको चुनाव सकिए लगत्तै एक साँझ वरदविद्वान डा जगमान गुरुङको फोन आयो –
” बाबू , म एकेडेमीको कुलपति हुने लगभग निश्चित भएको छ। तपाई सदस्य सचिव बसेर मलाई सहयोग गर्नुपर्‍यो।”
मैले भनेँ -” सर, हजुरसङ्ग काम गर्न पाउनु मेरो सौभाग्य हो। तर मलाई केही वर्ष स्वतन्त्र भएर लेख्नु छ। आफ्नो क्यारिएर बनाउनु छ। मलाई दुईचार वर्ष लेख्न दिनुस्। अहिले माफ गर्नुस्। म र्यो प्रशासनिक झन्झटमा पस्दिनँ।” उहाँले धेरै सम्झाउनु भयो। फेरि अर्कोपटक मेरा मित्र हरिप्रसाद ओझा मार्फत सम्झाउन लगाउनु भयो। यसको गाइँगुइँ हल्ला काठमाडौमा भैसकेछ। धेरै साथीहरूले फोन गरेर बधाई दिन थाले। केही दिनपछि म, मित्र भुपेन्द्र खड्कासङ्गै चितवनदेखि हेटौंडातिरको बाइक यात्रामा थिएँ। फेरि उहाँको फोन आयो तेस्रोपटक। उही कुरा दोहोर्‍याउनु भयो। मैले माफ मागेँ। हाम्रो संवाद सुनिरहेका मित्र भुपेन्द्रले झपारे – ” तपाई त मान्छे खत्तम हो यार। मान्छे त्यहाँ जानलाई मरिहत्ते गर्छन्, तपाई चाहिँ बडा त्यागी पल्टिने।”
भनेँ – “मलाई रुचि छैन। स्वतन्त्रै रहेर काम गर्न दिनुस्। छोड्दिनुस “
केही दिनपछि प्रचण्डले शेर बहादुर देउवालाई चित ख्वाएर केपी ओलीतिर गएपछि पार्टीहरूको गठबंधन फेरियो। श्रेद्ध्येय जगमान गुरुङ कुलपति हुने अवसर टर्‍यो। र , मैले पनि त्यो प्रस्तावबाट मुक्ति पाएँ।
*** *** *** ***
गएको फागुनमा चुनावको घोषणा भएपछि अहिलेका संस्कृति मन्त्री मित्र गनेश पौडेलको एकाबिहानै फोन आयो। भने – ” यो बालेनको तर्फबाट मेरो प्रस्ताव हो। तपाई प्रत्यक्ष चुनाव लड्ने कि समानुपातिकमा बस्ने, तयार हुनुस्।”
मैले भनेँ- ” साथी प्रस्तावको लागि धन्यवाद। तर मेरो वैचारिक कुरा पनि तपाईलाई थाहा छ। म अहिले पूर्ण रुपमा साहित्य कर्म गरिरहेको छु। दुईचार वर्ष साहित्यकै सेवा गर्छु। चुनावमा होमिन्न।”
मैले प्रस्ताव अस्वीकार गरेपछि लामो समयदेखि उनीसँग मेरो संवाद भएको थिएन।
गएको असार अन्तिम दिनमा हो क्यारे – हामी दुईजना, लोकगायक- संस्कृतिविद यज्ञराज उपाध्याय र म बाइकयात्रामा कैलाली जिल्लाको मध्यदक्षिणवर्ती क्षेत्र भजनीमा थियौँ। एउटा स्कुलमा पठन संस्कृति उत्प्रेरणात्मक कार्यक्रम थियो। एकजना मित्रले फोन गरे -” एकेडेमीमा प्राज्ञ खाने हो? “
मैले भनेँ – ” साहित्य कर्म गरिरहेकै छु त। प्राज्ञ नै किन खानुपर्‍यो। खाँदिन। “
उनले कर गरे -” होइन , अस्ति चुनाव लड भन्दा मानेको होइन , अहिले पनि नम्मान्न सक्छ। एकपटक सोधिहेर्नू न भनेर मन्त्रीले भन्नुभएको छ। बस्ने भए बस्नुस क्यारे , राम्रै हुन्छ। के गर्नुहुन्छ भन्नुस्।”
सोधेँ – ” कुलपति को हुँदैछ ? “
-” कुमार नगरकोटी “
मैले भनेँ -” कुमारजी र म समकालीन हौँ। उहाँ मभन्दा सिनियर होइन। त्यसो भए मलाई उपकुलपति बनाउन भन्नुस्। “
” त्यो कुरा त म भन्न सक्दिनँ।तपाई आफै भन्नुस् मन्त्रीसङ्ग।” उनले फोन राखे।
त्यसपछि मैले मन्त्री गनेश पौडेललाई एक वाक्य massage पठाएँ – ” साथी, सक्नुहुन्छ भनेँ उपकुलपति बनाउनुस , बस्छु।”
त्यसको लगत्तै कुमार नगरकोटीको फोन आयो – ” रामलालजी म कुलपति हुने भएँ। सङ्गै काम गरौं। टीममा बसेर सहयोग गर्नुस्।”
मैले भनेँ – ” सहयोग नगर्ने त कुरै छैन कुमारजी। मैले आफ्नो कुरा मन्त्रीजीलाई भनिसकेको छु। मेरो कुरा त्यै हो।”
उनले भनेँ -” उपकुलपतिमा त प्रधानमन्त्रीज्यूको सिधै दबाब छ, उहाँले नै नाम तोकेर पठाउनु भएको छ , त्यसमा मिल्दैन। “
भनेँ -“त्यसो भए म एकपटक मन्त्रीजीसङ्ग कुरा गरेर तपाईलाई खबर गर्छु है। “
उनले “ओके” भनेर फोन राखे। राख्ने बित्तिकै नारायण ढकालको फोन आयो – ” रामलालजी, तपाईले सदस्य सचिवमा बसेर सहयोग गर्नुपर्‍यो। “
मैले भनेँ -” दाइ ,मलाई त्यो प्रशासनिक झमेलामा नहाल्नुस। दिने भए स्वतन्त्रतापूर्वक काम गर्ने जिम्मेवारी दिनुहोस्।”
” होइन होइन , तपाईले चाहेको पद नमिल्ने भो। यसमा तपाई मज्जाले काम गर्न सक्नुहुन्छ बस्नुस्।” नारायणदाइको कर थियो।
मैले भनेँ -” त्यसो भए एकपटक मन्त्रीजीसङ्ग कुरा गर्छु दाइ अनि निर्णय दिन्छु। “
त्यसपछि पहिलो कल मैले मित्र अमर न्यौपानेलाई गरेँ र सबै कुरा बताएँ। अमरजीले भन्नुभयो – ” प्रशासनिक झमेला त असाध्यै हुन्छ। तर तपाई सक्नुहुन्छ। ओके गर्नुस्।”
एकछिनपछि massanger मा मन्त्री गनेश पौडेलको फोन आयो-
” प्लिज साथी , मेरो मुख हेर्नुस्। नारायण दाइले जे प्रस्ताव गर्नुभयो त्यसलाई ओके गर्नुस् यार है।”
मैले भनेँ – ” त्यसो भए मेरो एउटा कुरा मान्दिनुस्। लोकगायक र संस्कृतिविद यज्ञराज उपाध्याय र म दुई वर्षदेखि “पठन संस्कृति उत्प्रेरणात्मक अभियान ” मा छौँ। कम्तीमा चार वर्ष यो अभियान चलाउने र सधैं सङ्गै सहयात्रा गर्ने हाम्रो अठोट हो। उहाँलाई विचमै धोका दिएर म एक्लै जाँदा बेइमानी हुन्छ। उहाँलाई पनि सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठानमा लाइदिनुहुन्छ भने म बस्छु। “
“ल हुन्छ ओके। बायोडाटा र नागरिकता पठाइदिनुस्।” मन्त्रीको फोन काटियो।
फेरि नारायण दाइको फोन आयो। भन्नुभयो –
” यज्ञराजजीको कुरा ओके भयो। अब तपाईलाई काम गर्न सजिलो पनि हुनुपर्छ। तपाईको तर्फबाट ५/७ जना प्राज्ञ- सभामा राख्ने मान्छेको नाम सिफारिस गर्नुस्।”
त्यसपछि मैले सभाका लागि सम्बन्धित व्यक्तिको स्वीकृत लिएर ७ जनाको नाम पठाइदिएँ।
एकछिनपछि एकेडेमीमा यी नामहरू सिफारिस भए भनेर समाचारहरू आए।
समाचार सङ्गै कति तरङ्गहरू आए। कति बतासहरू चले। हल्ला र हावाहरू यसरी फैलिए कि अनेक लबिङ , प्रोपोगन्डा र चलखेलहरू शुरु भए। दोश्रो दिन मलाई असाध्यै माया गर्ने एकजना दाइले भन्नुभयो-” बबुवा, रास्वपामा प्रवेश गरेको हो ? “
भनेँ- ” रास्वपामा त म यो जुनीमा प्रवेश गर्दिन दाइ।” ” त्यसो भए काठमाडौ आएर भनसुन गरेको हो ? कुराकानी मिलाएको हो? “
इमान्दारीसाथ भनेँ- काठमाडौ नआएको त दुई वर्ष भो दाइ। भेटघाट र कुराकानी मिलाउन केही आवश्यक छैन।”
“त्यसोभए सुन, बबुवा,” उनले भने- “यहाँ वर्षौंदेखि सिंहदरवारको वरिपरि फन्को मार्नेहरू थाकेका छैनन्। सत्ता र शक्तिका वरिपरि नाच्ने पुतलीहरूलाई जिल ख्वाएर तिमी कदापि सदस्य- सचिव बन्न सक्तैनौं। लेखेर राख, तिमीलाई सदस्य सचिव बनाउँदैनन्।”
मैले भनेँ – “आवेदन भरेको होइन दाइ। बनाइदेऊ भनेर अनुरोध गरेको पनि होइन। मैले चाहेको पनि होइन। सहयोग गर्नुस् भनेर प्रस्ताव गरेका हुन्। नबनाए मेरो गाँस खोसिने त होइन नि।”
नभन्दै फेरि नारायण दाइको फोन आयो। भन्नुभयो -” रामलालजी धेरै दबाब आयो। सदस्यमा बसेर सहयोग गर्नुपर्‍यो।”
म अवाक बनेँ।
धेरै सोचेँ – आफ्नो मूल कर्म र धर्म छोडेर मैले यो झमेला पर्नु कदापि उचित होइन। त्यसपछि आत्मनिर्णय गरेँ – मलाई एकेडेमीमा जानू छैन।
कुनै पदमा बस्नु छैन। कसैको पद खोस्नु पनि छैन। चुपचाप आफ्नो कर्म गर्नु छ। बस्।
यसबिचमा आएका यी सबै कुराहरू मैले थाहा पाइरहेको छु। चुपचाप हेरिरहेको छु। समय बलवान् छ। एकदिन समयले सबै छर्लङ्ग गर्नेछ।
मेरो मूल धर्म लेखन हो। मूल कर्म साहित्य सेवा हो। यो धर्म र कर्मबाट म कहिल्यै बिचलित हुने छैन। हिजोका दिनमा पनि मैले आफ्नो कर्मक्षेत्रमा बसेर जेजति गर्न सकेको छु , सबैलाई थाहा छ। भोलिका दिनमा अझै अठोटका साथ दरिलो भएर कर्म गर्नेछु। सकेसम्म र याद भएसम्म कसैको चित्त दुखाउने र दुर्नियत राखेर कुनै कुकर्म गरेको छैन। परन्तु एक मानवमा जेजति गुणहरू हुन्छन , कमजोरी पनि उसैसाथ सुरक्षित रहेका हुन्छन्। यिनै कारणहरूले गर्दा मेरा बोली-व्यवहार ,, कुराकानी , संवाद र बोलीवचनबाट कसैको चित्त दुखेको छ भने क्षमाप्रार्थी छु।
मेरो मूल धर्म लेखन र मूल कर्म साहित्य सेवा हो। यो गर्ने क्रममा भोलिका दिनमा सबैसङ्ग सहकार्य र हालेमालो हुने नै छ।
तर आफ्नो मूल धर्म र कर्म छोडेर मलाई कुनै पदप्रति आशक्ति थिएन, छैन र हुने पनि छैन। पद प्राप्तिका लागि कतै दरखास्त, आवेदन वा निवेदन कहिल्यै दिएको छैन। र गठन हुन लागेको नेपाल प्रज्ञा- प्रतिष्ठानको कुनै पनि पदमा नजाने जानकारी गराउँछु।
सबैको जय होस्।
धन्यवाद। नमस्कार।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *