सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

डिसी नेपाल
१४ साउन २०८३ १७:५७

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले सुनसरी लगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

उनले सद्भाव र एकताको महत्व बुझाउँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएको स्मरण गराउँदै शताब्दीऔँदेखिको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन आग्रह गरेकी छन्।

अफवाह र घृणा फैलाउने कार्यको विरोध गरी उनले सम्पूर्ण नागरिकलाई उच्च संयम अपनाउन तथा अफवाह, घृणात्मक अभिव्यक्ति र सामाजिक सद्भाव खलबल्याउने गतिविधिहरूबाट टाढा रहन विशेष आग्रह गरेकी छन्।

उनले घटनाको निष्पक्ष छानबिनको माग गर्दै सरकार, प्रशासनिक निकाय र सुरक्षा क्षेत्रलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र प्रभावित क्षेत्रमा शान्ति-सुरक्षा पुनर्बहाली गर्न आह्वान गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवा र सञ्चारमाध्यमहरूलाई राष्ट्रिय एकता, सामाजिक न्याय र शान्तिपूर्ण सहअस्तित्वको संरक्षणका लागि आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *