देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिन माग गर्दै नेताहरूको संयुक्त अपिल

डिसी नेपाल
१४ साउन २०८३ २०:१८

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनापछि उत्पन्न परिस्थितिलाई लिएर विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले गहिरो दुःख, चिन्ता र संवेदना व्यक्त गर्दै संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। जनता समाजवादी पार्टी नेपालका सहन्य ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्यायको जोडदार माग गरेका हुन्।

विज्ञप्तिमा साम्प्रदायिक तनाव जस्तो संवेदनशील परिस्थितिमा राज्यका निकायले अत्यन्त संयम, निष्पक्षता र कानुनको मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा प्रहरीको हस्तक्षेप र दमनका सम्बन्धमा गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ। उनीहरूले घटनामा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारी तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

त्यस्तै, घटनामा बाह्य तत्व वा कुनै संगठित समूहको संलग्नता रहे/नरहेको विषयमा सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने, घटनाको नैतिक जिम्मेवारी लिँदै दमनमा संलग्न अधिकारीहरूलाई अनुसन्धान अवधिसम्म निलम्बन गरिनुपर्ने र सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ। घाइतेहरूको निःशुल्क उपचार, राहत वितरण तथा मधेशलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भए/नभएको बारे निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न पनि विज्ञप्तिमा जोड दिइएको छ।

अन्तमा, नेताहरूले प्रधानमन्त्रीलाई तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनको शासनप्रति आश्वस्त पार्न आग्रह गरेका छन्। साथै, सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि अफवाह वा उत्तेजनाको पछि नलाग्न हार्दिक अपिल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *