तराई अशान्त: प्रधानमन्त्रीको सक्रियता, राष्ट्रपति र पूर्वराजाद्वारा सद्भावको अपिल

डिसी नेपाल
१५ साउन २०८३ ६:३८

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने सामान्य विवादबाट सुरु भएको हिंसात्मक झडप तराई-मधेसका विभिन्न जिल्लामा फैलिएपछि स्थिति नियन्त्रणमा लिन राज्यका शीर्ष निकायदेखि पूर्वराजासम्मले सद्भावको अपिल गरेका छन्।

झडपमा परि सुनसरीका दुई र सिराहाका एक गरी तीन जनाको ज्यान गइसकेको छ भने दर्जनौँ घाइते भएका छन्। स्थिति थप जटिल बन्दै गएपछि सुनसरी, धनुषा, सिराहाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु तथा पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

सुरुवाती चार दिनसम्म सरकार मौन बसेको भन्दै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ तीव्र रूपमा सक्रिय बनेका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेर अवस्थाको समीक्षा गर्नुका साथै गृहमन्त्री गुरुङलाई तत्काल प्रभावित क्षेत्र सुनसरी पठाएका छन्। गृहमन्त्री गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरी पुगेर मृतकका परिवारजन तथा घाइतेहरूसँग भेट गरी राहत, निष्पक्ष छानबिन र सुरक्षाको ग्यारेन्टी गरेका छन्।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिलाई थप समावेशी बनाउँदै अनुसन्धानलाई तीव्रता दिइएको छ। यस्तै, देवानगञ्ज गाउँपालिकाले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

अवस्था नियन्त्रणबाहिर जान नदिन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अफवाहमै भर परेका अभिव्यक्ति र सामाजिक सञ्जालमा घृणा फैलाउने गतिविधि नगर्न चेतावनी दिएका छन्।

सम्बोधनलगत्तै प्रधानमन्त्री शाहले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग मुलुकको पछिल्लो शान्ति-सुरक्षा र सद्भाव कायम गर्ने रणनीतिका विषयमा भेटवार्ता गरेका छन्। उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि हिंसा भड्किन नदिन संयमित हुन र आगो निभाउन योगदान पुग्ने गरी मात्र अभिव्यक्ति दिन सबैसँग आग्रह गरेका छन्।

तराईमा बढ्दै गएको अशान्तिका बीच राष्ट्रपति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहिआएको धार्मिक र जातीय सहिष्णुता नै नेपालको मुख्य पहिचान भएकाले यसलाई खलबलिन नदिन सबै दल र नागरिकलाई अपिल गरेका छन्।

त्यसैगरी, एमाले अध्यक्ष ओलीले अवाञ्छित तत्वहरूले परिस्थितिको फाइदा उठाउन सक्नेतर्फ सचेत गराउँदै दलीय प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति कायम गर्न आग्रह गरेका छन्। पूर्वराजा शाहले पनि बहुसांस्कृतिक नेपालको मौलिक मान्यताविपरीत भएका यस्ता हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई जुनसुकै क्षेत्रमा रहे पनि आपसमा मिलेर बस्न र संयम अपनाउन आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *