गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
डिसी नेपाल
१५ साउन २०८३ ९:१०
सिरहा । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा हालै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई भेट्ने तथा जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ।
यो जानकारी गृहमन्त्री गुरुङले स्वयं सुनसरीको देवानगञ्जमा दिएका हुन्। बिहीबार राति उनले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुगेर त्यहाँ भएको हिंसात्मक घटनामा मृत्यु भएका व्यक्तिका आफन्तसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो।
देवानगञ्जको कार्यक्रम सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ मोरङको विराटनगर पुगेका छन्। केही समय विराटनगरमा बसेपछि उनी सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि त्यसको विरोध मधेश प्रदेशका विभिन्न जिल्लामा चर्किएको छ। प्रदर्शनका क्रममा सिरहाको धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनापछि सिरहासहित मधेशका विभिन्न जिल्लामा तनावपूर्ण अवस्था सिर्जना भएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।
गृहमन्त्री गुरुङले आज गणेश यादवका परिवारसँग भेट गरी घटनाप्रति समवेदना व्यक्त गर्ने, पीडित पक्षका गुनासा सुन्ने तथा जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। साथै, पछिल्ला घटनापछि शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम गर्न आवश्यक निर्देशन समेत दिने तयारी रहेको छ।
Facebook Comment