बिहानको प्रदर्शनदेखि साँझको गोलीकाण्डसम्म: गोलबजारमा दिनभर के-के भयो?
सिरहा। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा सुरु भएको प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, तोडफोड, आगजनी र कर्फ्युको अवस्था सिर्जना भएको छ।
बिहानदेखि गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। सुरुवातमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसो करिब २ बजेपछि भने अचानक तनावपूर्ण बनेको थियो।
गोलबजार नगरपालिका–४ क्षेत्रमा दुई समूह आमनेसामने भएपछि स्थिति बिग्रन थालेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले बीचमा रहेर स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि दुवै पक्षबीच लखेटालखेट र ढुङ्गामुढा सुरु भएको थियो।
झडप चर्किएसँगै आक्रोशित भीडले नेपाल टेलिकम कार्यालयनजिकै पार्किङ गरी राखिएका करिब २१ वटा मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेका थिए।
सडक र वरपर बाक्लो धुवाँ फैलिएपछि दमकल परिचालन गरिएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कफ्र्यु आदेश जारी गर्दै नेपाली सेनासमेत परिचालन गर्यो।
झडपपछि क्याम्पस रोडतर्फ पुगेका प्रदर्शनकारीमाथि गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। गोली लागेर सिरहाको औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादव र धनुषाको धनुषाधामका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका थिए।
उपचारका क्रममा गणेश यादवको मृत्यु भएपछि प्रदर्शन थप आक्रोशित बन्यो र बजारका पसल, होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड एवम् आगजनी भयो।
आफन्तहरूले दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने अडान लिएका थिए, तर प्रहरीले पछि शव नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका लागि लगेको छ।
घाइते सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस्तै झडपका क्रममा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालसहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।
साँझ सुरक्षा निकायले संयुक्त रूपमा गस्ती बढाउँदै अश्रुग्यास प्रहार गरेपछि स्थिति केही साम्य भएको थियो। रातिसम्म गोलबजारमा कर्फ्यु जारी रहँदा सडकमा जलेका सवारीसाधन, फुटेका सिसा र सुरक्षाकर्मीको बाक्लो उपस्थिति मात्रै देखिन्थ्यो।
बिहान शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन कसरी र कुन परिस्थितिमा हिंसात्मक बन्यो भन्नेबारे निष्पक्ष अनुसन्धानपछि मात्र प्रस्ट हुने देखिएको छ।






No ads found for this position


डिसी नेपाल
Facebook Comment