धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल
काठमाडौं। सुनसरीको देवानगञ्ज घटनापछि सिरहा, पर्सासहित तराई-मधेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव र अशान्त वातावरणलाई साम्य पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रसरता देखाएको छ।
सामाजिक सद्भाव र राष्ट्रिय सहिष्णुता कायम राख्ने उद्देश्यले रास्वपाका सभापति रवि लामिछानेले हिन्दु र मुस्लिम धर्मका प्रमुख अगुवाहरूसँग छलफल गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित बैठकमा सभापति लामिछानेले मुस्लिम समुदायका धर्मगुरुहरू मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदका साथै विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ संवाद गरेका हुन्।
छलफलका क्रममा देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गोलबजार झडपमा ज्यान गुमाएका १५ वर्षीय किशोर गणेश यादवसहित मृतकहरूप्रति दुःख व्यक्त गर्दै सद्भाव कायम राख्ने विषयमा विचार-विमर्श भएको थियो।
सभापति लामिछानेले देशका विभिन्न भागमा भइरहेका उग्र प्रदर्शन, तोडफोड र असमझदारीलाई तत्काल रोक्न र समाजमा भाइचाराको सन्देश प्रवाह गर्न दुवै धर्मका अगुवाहरूलाई साझा अपिल जारी गर्न आग्रह गरे।
बैठकमा सहभागी धार्मिक अगुवाहरूले पनि परापूर्वकालदेखि कायम रहेको नेपाली समाजको धार्मिक सहिष्णुता र सद्भाव बिग्रन नदिन आफूहरूका तर्फबाट क्षेत्रगत रूपमा संयमता र शान्तिको अपिल गर्ने प्रतिबद्धता जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment