निर्मल पुर्जाको योगदान इतिहासमा सधैँ जीवित रहनेछ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाउने कीर्तिमानधारी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहितका पर्वतारोहीहरूप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो (विश्वको १२औँ अग्लो) ‘ब्रोड पिक’ आरोहणका क्रममा ६ जना नेपाली र ४ विदेशीसहित १० जना आरोहीको निधन भएको हो।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका हुन्।
उनले भनेका छन्, ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्।’
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्र रोकिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन्। साथै, उनले सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment