सबासँगको सम्बन्धमा ऋतिकलाई बधाई दिँदै कंगना भन्छिन्-‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’
काठमाडौं। बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धलाई लिएर सकारात्मक प्रतिक्रिया दिएकी छन्। साथै, उनले ऋतिकको नाम जोडेर आफूमाथि भइरहेको अनलाइन ट्रोलिङ र दुर्व्यवहार रोक्न आग्रह समेत गरेकी छन्।
कंगनाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत ऋतिक र सबाको जोडीलाई बधाई दिँदै आफ्नो नाम जोडेर हुने अनलाइन ‘बुलिङ’को विरोध गर्न ऋतिकसँग माग गरेकी हुन्।
“प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु। तिमीहरू दुवै निकै राम्रा देखिन्छौ,” कंगनाले लेखेकी छन्, “तिमी यतिबेला प्रतिबद्ध सम्बन्धमा छौ, त्यसैले कुनै महिलालाई जिस्क्याउने वा निशाना बनाउने कुरा तिमीलाई सुहाउँदैन। मेरो नाम प्रयोग गरेर मलाई दुर्व्यवहार र ट्रोल गर्नेहरूलाई तिमीले रोक्नुपर्छ। आगोमा घिउ थप्ने काम नगर र आफ्नी पार्टनरलाई असहज हुने अवस्था सिर्जना हुन नदेऊ।”
कंगनाको यो भनाइ ऋतिकले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणीपछि आएको हो। एक इन्फ्लुएन्सरले ‘संसारले ऋतिकसँग माफी माग्नुपर्छ’ भन्ने पोस्ट गरेपछि ऋतिकले प्रतिक्रिया दिँदै केवल अर्को व्यक्ति (बी) मन नपरेकै कारण कसै (ए) लाई समर्थन गर्नु समाजको समस्या भएको टिप्पणी गरेका थिए।
यसैबीच, कंगना पछिल्लो समय भारतमा भइरहेको विद्यार्थी आन्दोलन र नयाँ पुस्ताको जीवनशैलीबारे दिएका अभिव्यक्तिहरूका कारण पनि सामाजिक सञ्जालमा चर्चा र विवादमा छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment