११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१८ साउन २०८३ १६:२५

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीलाई झाडी सफाइ, अग्नि रेखा निर्माण, वृक्षारोपण, वन हेरालुको तलब, भैँसी पालन, बाख्रा पालन, डढेलो नियन्त्रण र मौरीपालनलगायतका शीर्षकमा खर्च भएको देखाई नक्कली बिल तथा झुट्टा विवरण तयार गरिएको थियो।

अनुसन्धानका क्रममा वन उपभोक्ता समूहका पदाधिकारी र लेखापरीक्षकको मिलेमतोमा समितिको ३९ लाख १२ हजार ५ सय ६० रुपैयाँ ८४ पैसा हिनामिना तथा हानिनोक्सानी गरिएको आयोगले जनाएको छ।

आयोगले मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद र हर्क बहादुर बुढा, सचिवहरू बनौली रोकाय, पूर्ण देवि धामी र तुल्सी दानी तथा कोषाध्यक्षहरू जमान सिंह धामी, रूद्र बहादुर बन्तोला र चक्र बहादुर सावद विरुद्ध मुद्दा दायर गरेको छ।

यस्तै, लेखापरीक्षण प्रतिवेदन तयार गर्ने क्रममा अनियमितता गरेको आरोपमा पाठक एण्ड एसोसियट्सका रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेम बहादुर वि.सी. एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेम बहादुर वि.सी. विरुद्ध पनि मुद्दा दायर गरिएको छ।

आयोगका अनुसार प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाले सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *