६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे
काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए । नेपालसँग भौगोलिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताको अनुपम सम्पदा भए पनि राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रणाली, पूर्वाधार अभाव र दीर्घकालीन दृष्टिकोणको कमीका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ ।
पाण्डेका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार विदेशी पर्यटक भित्रिएका थिए । यो संख्या नेपालको सम्भावनाको तुलनामा अत्यन्त न्यून रहेको उनको दाबी छ । उनले नेपालसँग मिल्दोजुल्दो भूपरिवेष्ठित मुलुक लाओसमा वार्षिक करिब ४५ लाख पर्यटक पुग्ने उदाहरण दिँदै नेपालले पनि त्यति नै संख्यामा पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्ने बताए ।
उनले लामो समयको राजनीतिक अस्थिरता र एक दशक लामो सशस्त्र द्वन्द्व जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि कमजोर बनाएको उल्लेख गरे । साथै सडक, हवाई सेवा, स्वास्थ्य, सुरक्षा, प्रवद्र्धन र सेवा–सुविधाजस्ता आधारभूत पूर्वाधारको विकास पर्याप्त हुन नसक्दा पर्यटन क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।
‘नेपाल प्राकृतिक सम्पदाको धनी देश हो । सगरमाथा, लुम्बिनी, हिमाल, पहाड, तराई, विविध जातजाति, संस्कृति र जैविक विविधताले भरिएको देश भएर पनि हामीले ती सम्पदालाई प्रभावकारी रूपमा विश्व बजारमा प्रस्तुत गर्न सकेका छैनौं,‘ उनले भने ।
पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट भिजन–मिसन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले विगत चार दशकभन्दा बढी समय पर्यटन क्षेत्रमा बिताउँदा करिब ४० भन्दा बढी पर्यटन मन्त्री र सचिवसँग काम गरेको अनुभव सुनाउँदै नेतृत्व तहमा दीर्घकालीन सोच र निरन्तरता अभाव रहेको टिप्पणी गरे ।
उनका अनुसार पर्यटन व्यवसायीहरूले तयार पारेको एक दीर्घकालीन योजनाअनुसार सन् २०२६ मा पर्यटक आगमन १० प्रतिशतले वृद्धि गर्न सकिए १२ लाख ७४ हजार पर्यटक नेपाल भित्र्याउन सकिन्छ । त्यसपछि वार्षिक १५ प्रतिशत वृद्धिदर कायम गर्न सके सन् २०३२ सम्म पर्यटक संख्या २९ लाख ४७ हजार पुग्नेछ ।
यस्तै, वार्षिक १० प्रतिशतको निरन्तर वृद्धि कायम रहे सन् २०४० सम्म नेपालमा ६३ लाख विदेशी पर्यटक भित्र्याउन सकिने उनको दाबी छ । पाण्डेका अनुसार ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न छ वटा आधारशिला महत्वपूर्ण छन् । पूर्वाधार विकास, पहुँच सहजता, पर्यटन उत्पादन विकास, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नीतिगत सुधार तथा दक्ष जनशक्ति विकास गर्न सकेमा यो लक्ष्य सहजै हासील गर्न सकिन्छ । उनले यस्तो लक्ष्य हासिल भए नेपालको वर्तमान आर्थिक समस्याको ठूलो हिस्सा समाधान हुन सक्ने बताए ।
उनका अनुसार हाल ८० लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश गएका कारण आन्तरिक बजारमा उपभोक्ताको अभाव देखिएको छ । यसले व्यापार, होटल, रेस्टुरेन्ट, निर्माण, कृषि तथा सेवा क्षेत्रलाई असर गरिरहेको छ । तर लाखौं पर्यटक नेपाल भित्र्याउन सकिए उनीहरू स्वयं उपभोक्ताका रूपमा बजारमा प्रवेश गर्ने भएकाले अर्थतन्त्र चलायमान हुने उनको तर्क छ ।
पाण्डेले पर्यटन क्षेत्रको योगदान हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ६÷७ प्रतिशत रहेको उल्लेख गर्दै पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सके यो योगदान १० देखि १५ प्रतिशतसम्म पुग्न सक्ने बताए । विदेशी मुद्रा आम्दानी पनि हालको तुलनामा १५ गुणासम्म बढ्न सक्ने उनको अनुमान छ ।
उनले पर्यटन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० लाखसम्म रोजगारी सिर्जना गर्न सक्ने दाबी गरे । पर्यटन विस्तारसँगै हस्तकला, गार्मेन्ट, कृषि, स्थानीय उत्पादन तथा घरेलु उद्योगहरूको माग बढ्ने र ग्रामीण अर्थतन्त्रसमेत सुदृढ हुने उनले बताए ।
पाण्डेका अनुसार मेडिकल टुरिजम, वेलनेस टुरिजम, शैक्षिक पर्यटन, स्वयंसेवी पर्यटनजस्ता नयाँ क्षेत्रको विकासमार्फत नेपालले विश्व पर्यटन बजारमा नयाँ अवसरहरू सिर्जना गर्न सक्छ । साथै पर्यटनको विस्तारले अन्तर्राष्ट्रिय सम्बन्ध, सांस्कृतिक आदानप्रदान, प्रविधि हस्तान्तरण र सीप विकासमा समेत सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
‘पर्यटन केवल भ्रमणको विषय होइन, यो नेपालको आर्थिक रूपान्तरणको आधारशिला बन्न सक्छ । स्पष्ट योजना, बलियो नेतृत्व र प्रभावकारी कार्यान्वयनका साथ अघि बढ्न सके पर्यटनले नेपालको समृद्धिको सपना साकार पार्न सक्छ,‘ पाण्डेले भने ।
सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य
पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको पाण्डेले बताए । पर्यटनसम्बन्धी होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक पूर्वाधारमा निजी क्षेत्रले नै लगानी गर्न सक्ने भएकाले राज्यले मुख्य रूपमा सडक, विमानस्थल र यातायात पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौंलाई जोड्ने पर्यटन सर्किटलाई अन्तर्राष्ट्रियस्तरको चार लेन सडकमार्फत विकास गर्नुपर्ने प्रस्ताव गरे । पर्यटकले जाम, खाल्डाखुल्डी र अवरोधबिना सहज यात्रा गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, महेन्द्र राजमार्गलाई भविष्यमा एक्सप्रेस–वेका रूपमा स्तरोन्नति गरी भारत र नेपालबीचको पर्यटन तथा आवागमनको मुख्य मार्ग बनाउनुपर्ने उनले बताए । भारत, बंगलादेश र उत्तरपूर्वी भारतका करोडौं मानिसलाई लक्षित गर्दै गुणस्तरीय सडक सञ्जाल निर्माण गर्न सके नेपाल क्षेत्रीय पर्यटनको केन्द्र बन्न सक्ने उनको विश्वास छ ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख आकर्षण भएकाले काठमाडौं–फाप्लु–लुक्ला सडकलाई सगरमाथा राजमार्गका रूपमा विकास गर्नुपर्ने सुझाव पनि उनले दिए। साथै, केरुङ–काठमाडौं, तातोपानी–काठमाडौं तथा कोरला–पोखरा–भैरहवा जस्ता उत्तर–दक्षिण करिडोरलाई स्तरोन्नति गरेर चीन र भारतबीचको पर्यटन तथा आवागमनलाई सहज बनाउनुपर्ने उनको धारणा छ ।
पाण्डेले सीमावर्ती नाकाहरूमा डिजिटल ट्राभल पास, क्यूआर कोड र आधुनिक प्रविधिमा आधारित भन्सार तथा सुरक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । यसले विदेशी पर्यटकलाई छिटो, सुरक्षित र सहज सेवा उपलब्ध गराउने उनको भनाइ छ ।
उनले पर्यटक आगमन बढाउन नयाँ पर्यटन ‘प्रोडक्ट’ विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए । पूर्वी र पश्चिमी तराईमा डिज्नील्यान्ड वा कोरियाको ‘लोटे वल्र्ड’ जस्ता अन्तर्राष्ट्रियस्तरका थिम पार्क स्थापना गर्न सके भारतीय तथा बंगलादेशी पर्यटक आकर्षित गर्न सकिने उनले बताए ।
त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको जीवन र दर्शनमा आधारित थिमेटिक पर्यटन केन्द्र निर्माण गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनको सुझाव छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमा ‘लङ–हल हब’ का रूपमा विकास गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिने पाण्डेको भनाइ छ । उनले स्पष्ट योजना, आधुनिक पूर्वाधार र प्रविधिमैत्री सेवा प्रणालीमार्फत नेपालले आफ्नो पर्यटन सम्भावनालाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment