संखुवासभा र जुम्लाका दुई ज्यान जोखिममा परेका सुत्केरीको सफल हवाई उद्धार

डिसी नेपाल
१९ साउन २०८३ ११:३३

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ मार्फत ज्यान जोखिममा परेका दुई जना महिलाको सफल हवाई उद्धार गरिएको छ। उद्धार गरिएका सुत्केरीहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार साउन १७ गते संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुंगानाले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

स्थानीय चिकित्सकको सिफारिसका आधारमा उहाँलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित परोपकार स्त्री तथा प्रसूति गृह, थापाथली ल्याइएको हो। हाल उहाँको विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

त्यसैगरी साउन १८ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि उनको ज्यान जोखिममा परेको थियो। चिकित्सकीय सिफारिसअनुसार उहाँलाई पनि तत्कालै हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पताल पुर्‍याएर विशेषज्ञ उपचार सुरु गरिएको छ।

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु दर घटाउन, सुरक्षित मातृत्व प्रवर्द्धन गर्न र दुर्गमका महिलाको जीवनरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

मन्त्रालयले दुर्गम क्षेत्रका महिलाहरूका लागि यस्ता जीवनरक्षक सेवाहरूलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *