दुई समस्याग्रस्त सहकारीका ३४१ साना बचतकर्ताले पाए रकम फिर्ता

डिसी नेपाल
१९ साउन २०८३ १०:५८

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार कान्तिपुर सेभिङका ३३४ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३४१ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। समस्याग्रस्त घोषित सहकारीका ऋणीहरूबाट असुल गरिएको रकमबाट नै पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले स्पष्ट पारेको छ।

यसैबिच, समितिले गत साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीहरूबाट रकम असुल गरिएको जानकारी दिएको छ।

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका (साना) बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको परिमाणका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकम फिर्ता गर्दै जाने नीति लिइएको छ।

प्रचलित कानुनी व्यवस्था अनुसार समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र ऋण असुली प्रक्रियालाई निरन्तरता दिँदै प्राप्त रकमबाट बचतकर्ताको निक्षेप फिर्ता गर्ने कार्यलाई अघि बढाइएको समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *