‘गौंथली’को टिकट नपाएर दर्शक निराश, ओभरफ्लोको फाइदा विदेशी सिनेमालाई
काठमाडौं। साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ले प्रदर्शनको १७ औँ दिनमा पनि बक्स अफिसमा आफ्नो आक्रामक व्यापार कायम राखेको छ।
देशभरका अधिकांश हलहरूमा अग्रिम बुकिङबाटै शोहरू हाउसफूल भएपछि हलमै पुगेर टिकट काट्न खोज्ने दर्शकहरू रित्तो हात फर्किन बाध्य भएका छन्। आइतबार दिउँसोका शोहरू बिहानै र साँझका शोहरू दिउँसो नै हाउसफूल भएका थिए।
एउटा हलमा टिकट नपाएपछि अर्को हल पुग्दा पनि ‘गौँथली’ हेर्न नपाएर धेरै दर्शक निराश भएर फर्कनुपरेको वितरक करण श्रेष्ठले जानकारी दिए।
“जति दर्शकले सिनेमा हेर्नुभयो, त्यति नै सङ्ख्यामा दर्शक टिकट नपाएर फर्किनुभयो; हाम्रा ओभरफ्लो दर्शक विदेशी सिनेमाले पाए,” वितरक श्रेष्ठले भने। सामान्यतया बलिउडका ठूला सिनेमा आउँदा ओभरफ्लो दर्शक तान्न नेपाली सिनेमा लगाउने गरिए पनि यसपटक भने परिस्थिति उल्टो बनेको र ‘गौँथली’को टिकट नपाएका दर्शक अन्य विदेशी सिनेमा हेर्न गएको उनको भनाइ छ।
चलचित्रका निर्देशक डा. कपिल रिजालले पनि आफ्ना दर्शकहरू हलबाट निराश भएर फर्किनुपरेकोमा दुःख व्यक्त गर्दै क्षमा मागेका छन्।
“हाम्रो चलचित्र प्रायः हलमा सोही समयमा (डोर सेल) टिकट बिक्री हुने प्रकृतिको हो, तर अग्रिम बुकिङमै सबै टिकट सकिएपछि धेरै दर्शकले सिनेमा हेर्न पाउनुभएन,” उहाँले भन्नुभयो। उहाँले दर्शकहरूलाई पुनः सहज समय र स्थान रोजेर चलचित्र हेर्न अपिल गरेका छन्।
प्रदर्शनको तेस्रो आइतबारसम्म आइपुग्दा ‘गौँथली’ले देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। हालसम्म यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन्। यससँगै ‘गौँथली’ यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा बन्न सफल भएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment