नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सिमलताल क्षेत्रमा दुईतर्फी यातायात ठप्प
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक बुधबार बिहान पहिरो खस्दा देशकै व्यस्त राजमार्गमध्ये एकमा दुईतर्फी यातायात सेवा अवरुद्ध भएको छ। सडकमा पहिरो खसेसँगै दुवैतर्फ सयौं सवारी साधन रोकिएका छन् भने यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहान खसेको पहिरोले सडक पूर्ण रूपमा ढाकेपछि सवारी आवागमन तत्कालका लागि रोकिएको हो।
उनका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन डिभिजन सडक कार्यालयसँग समन्वय गरी डोजर तथा आवश्यक उपकरण परिचालन गरिएको छ। सडक खुलाउने काम भइरहेको र मौसमले साथ दिएमा सकेसम्म छिटो यातायात सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने जोखिम बढेको छ। विशेषगरी सिमलताल आसपासका क्षेत्रमा वर्षायाममा पटक–पटक पहिरो झर्ने गरेकाले यो सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अत्यावश्यक बाहेकको यात्रा स्थगित गर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ अघि बढ्न अनुरोध गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड राजधानी काठमाडौंलाई देशका पूर्वी तथा पश्चिमी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग भएकाले यस सडकमा हुने अवरोधले लामो दूरीका यात्रु र मालवाहक सवारीसमेत प्रत्यक्ष प्रभावित हुने गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment