तीन महिनामा अवैध हातहतियारसहित ८४ जना पक्राउ, ६७ थान हतियार र ठूलो मात्रामा गोली बरामद
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख १ देखि असार मसान्तसम्म देशभर चलाएको तीन महिने विशेष अभियानका क्रममा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यस अवधिमा गण्डकीबाट १८, कोशीबाट १४, लुम्बिनीबाट १३, मधेसबाट ११, कर्णालीबाट १०, काठमाडौँ उपत्यकाबाट ८ तथा बागमती र सुदूरपश्चिम प्रदेशबाट ५/५ जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूबाट प्रहरीले कुल ६७ थान हतियार र ३५१ राउन्ड गोली बरामद गरेको छ। बरामद हतियारहरूमा ४१ थान भरुवा बन्दुक, ९ थान कटुवा पेस्तोल, ९ थान अन्य बन्दुक, ३ थान एयरगन, २ थान चाइनिज पेस्तोल, २ थान सामान्य पेस्तोल र १ थान रिभल्भर रहेका छन्।
यसैगरी, एसएलआरका २६३ राउन्ड, विभिन्न बन्दुकका ७० राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड र चाइनिज पेस्तोलका ४ राउन्ड गोलीसमेत बरामद गरिएको छ।
गैरकानुनी हातहतियारको प्रयोग तथा कारोबार नियन्त्रण गरी अपराधमुक्त समाज निर्माणका लागि आफ्नो सक्रियता निरन्तर रहने नेपाल प्रहरीले जनाएको छ। साथै, कसैले अवैध हतियार लुकाएर राखेको भए प्रहरीलाई सूचना दिन वा स्वेच्छाले बुझाउनसमेत सर्वसाधारणसँग अपिल गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment