१८ महिनादेखि अवरुद्ध गमगढी–नाक्च्या सडक सञ्चालनमा
मुगु। छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ।
छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडक खण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो। सडक डिभिजन कार्यालय जुम्लाले निर्माण गरेको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सञ्चालनका लागि आवश्यक पहुँच मार्गमा पर्ने जग्गाको मुआब्जा सम्बन्धी विवाद समाधान हुन नसक्दा स्थानीयले सडक अवरुद्ध गरेका थिए।
नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा भएको पहलपछि जग्गाधनी धनबहादुर मल्ल र छायाँनाथ रारा नगरपालिकाबीच मुआब्जा सम्बन्धी सहमति भएको छ। सहमतिसँगै सडकमा लगाइएको अवरोध हटाइएको हो।
नगरपालिकाका अनुसार सहमति पश्चात् २०८३ साल साउन २० गतेदेखि उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन पुनः सुरु गरिएको छ। सडक सञ्चालनमा आएपछि गमगढी–नाक्च्या क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
लामो समयदेखि पुल निर्माण सम्पन्न भए पनि पहुँच मार्गको जग्गा मुआब्जा विवादका कारण सडक उपयोगमा आउन सकेको थिएन। अब विवाद समाधान भएसँगै पुल तथा सडक दुवै पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
No ads found for this position


Facebook Comment