गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

डिसी नेपाल
२० साउन २०८३ १८:४४

गण्डकी। गण्डकी प्रदेशमा हालसम्म ९९ दशमलव ३९ प्रतिशत रोपाइँ भइसकेको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ।

छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताए। साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उनको भनाइ छ। प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको छ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ। हिमालपारिका मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल भने बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताए।

चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो।

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएको थियो। जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धान खेतीको क्षेत्रफल घट्दै गएको पाइएको हो।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिँदै आएको छ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धान खेतीको पकेट क्षेत्र हुन्।

यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *