ओलीसँगको वार्तापछि सहमति: तत्काल हिक्मत कार्कीकै नेतृत्वमा सरकार निरन्तर
काठमाडाैं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा नदिने अडान लिएपछि तत्कालका लागि उनकै नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुन्डुस्थित निवासमा भएको गहन छलफलपछि अर्को निर्देशन नभएसम्म कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्षमा पार्टी पुगेको हो।
पार्टी अध्यक्ष ओलीले कोशीमा नयाँ नेतृत्व (ताप्लेजुङका प्रदेश सांसद तिलकुमार मेन्याङ्बो) लाई अवसर दिन कार्कीलाई पद छाड्न र मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
तर, मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकार भएकाले तत्काल राजीनामा दिँदा संवैधानिक संकट आउन सक्ने र संस्थागत रूपमा पार्टी सचिवालयले आधिकारिक निर्णय नगरेसम्म राजीनामा नदिने अडान दोहोर्याएका थिए।
मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज एवं सचिव शेरधन राईसहितको उपस्थितिमा भएको छलफलपछि तत्काल कार्कीकै नेतृत्व कायम राख्ने सहमति भएको हाे।
यसअघि, प्रदेश इन्चार्ज शेरधन राईमार्फत राजीनामा दिन पठाइएको मौखिक सन्देश कार्कीले अस्वीकार गरेपछि विवाद सुल्झाउन अध्यक्ष ओलीले कोशीका शीर्ष नेताहरूलाई काठमाडौँ बोलाएका थिए। वार्ता पश्चात् तत्कालका लागि कोशी प्रदेशको सत्ता फेरबदलको प्रयास टरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment