धुम्रपानसम्बन्धी कानुन कडाइका साथ लागू गर्न प्रशासनको निर्देशन

डिसी नेपाल
२० साउन २०८३ २२:५४

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ।

कार्यालयले आज जारी गरेको अत्यन्त जरुरी सूचनामा होटल तथा रेष्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ।

प्रचलित कानुनी व्यवस्थाको पालना नभएको गुनासो आएपछि व्यवसायीलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको सूचनामा उल्लेख छ।

सूचनाअनुसार जिल्लाभित्र सञ्चालित सबै होटल तथा रेष्टुरेन्टले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा देखिने गरी छुट्याउनुपर्नेछ। धुम्रपान गर्न मिल्ने स्थान चारैतिरबाट बन्द हुने तथा त्यसको असर अन्य व्यक्तिमा नपर्ने गरी मात्र व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य निकायबाट हुने अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि सूचनामा दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामार्फत सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *